स्व. पिता हेमबहादुर लामाले निर्देशन गरेको फिल्म ‘आदर्श नारी’बाट अभिनय करिअर सुरु गरेका विजय लामाले वर्षौंदेखि दुईवटा डुंगामा एकसाथ यात्रा गरिरहेका छन् । अभिनयलाई निरन्तरता दिँदै आएका उनी नेपाल एयरलाइन्सको विमान चालक समेत हुन् । उनी वर्षमा एक या दुईवटा फिल्ममा मात्र काम गर्छन् । उनी अभिनीत नयाँ फिल्म ‘अन्तिम संस्कार’ अहिले हलमा प्रदर्शनरत छ ।
अभिनेता लामाले अब फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित फिल्म ‘अन्तिम संस्कार’को विशेष शोमा उपस्थित हुने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले फिल्म निर्देशन गर्न लागेको जानकारी दिए । उनले भने, ‘म दुईटा फिल्मबाट निर्देशन सुरु गर्दैछन् । चाँडोभन्दा चाँडो निर्देशन गरेर फिल्म ल्याउँछु । निर्देशनका लागि समय निकाल्दैछु ।’
‘अन्तिम संस्कार’मा उनको ‘न्यूड सिन’ समावेश छ । प्रदर्शनपूर्व यसबारेमा मौनता साँधेर बसेका उनले कथाले मागेपछि ‘न्यूड सिन’ दिन तयार भएको बताउँछन् । ‘कलाकार भएपछि खाली तोरी बारीमा नाच्ने, फाइट मात्र गर्ने होइन । कलाकारले त क्यारेक्टरलाई जीवन्त बनाउन सक्नुपर्छ,’ लामाले भने, ‘कुनै क्षेत्रमा तपाईं ‘प्यासिनेट’ हुनुहुन्छ भने जस्तोसुकै ‘स्याक्रिफाइस’ गर्न तयार हुनुहुन्छ ।’
अत्याधिक चिसोका कारण ‘न्यूड सिन’ दिन गाह्रो भएता पनि त्यसबेला आफू क्यारेक्टरभित्र छिरेकाले असहज महसुस भने नभएको उनले स्मरण गरे । १६ हजार फिटमाथि माइनस ६ डिग्री तापक्रममा उक्त सिन दिएको उनले जानकारी दिए । नेपाली फिल्मप्रति दर्शकहरुको दायित्वबोध हुन सकेको अवस्थामा नेपाली फिल्मले केही वर्षमा नै ठूलो फड्को मार्ने समेत विजय लामा बताउँछन् ।