९० को दशकमा लभस्टोरी फिल्ममा रुचाइएका अभिनेता रमेश उप्रेतीले अमेरिकाबाट फर्केपछि दुई फिल्ममा काम गरे । ‘ब्रासलेट’ उनको कमब्याक फिल्म थियो भने फिल्म ‘ऐश्वर्य’लाई आफैँले निर्माण गरेका थिए । ‘ऐश्वर्य’पछि भने उनले फिल्ममा काम गरेका छैनन् । ६ वर्षपछि उनी यस वर्ष दुई फिल्ममा काम गर्ने योजनामा छन् । असोज र माघमा उनको दुई फिल्मको छायांकन हुनेछ ।
अब आफूले करिअरलाई ध्यानमा राखेर फिल्म छान्ने गरेको उनको भनाई छ । ‘फिल्मको अफरहरु आइरहेका हुन्छन् तर मन छुनु पर्यो । हामी म्याचुअड पनि भयौं । फिल्म खेल्दा आफ्नो करिअरलाई ध्यानमा राख्नैपर्छ,’ उनले भने, ‘अब मैले अहिलेसम्म बनाएको इमेजलाई धक्का नलागोस् भनेर काम गर्नुपर्ने हुन्छ । मप्रति दर्शकको विश्वासमा कुनै धक्का नपुगोस् भनेर फिल्म छान्ने गरेको छु ।’
उप्रेती फिल्म क्षेत्रलाई चलायमान बनाउन एक्सन-थ्रिल फिल्म चल्नुपर्ने धारणा राख्छन् । एक्सन फिल्म नचले फिल्म क्षेत्र बलियो हुन नसक्ने उनको तर्क छ । ‘फिल्म क्षेत्रलाई चलायमान बनाउन एक्सन फिल्म चल्नैपर्छ । एक्सन फिल्म चलेन भने फिल्म क्षेत्र बलियो हुँदैन । वर्षमा एउटा अर्गानिक फिल्म चलेर फिल्म क्षेत्रलाई फाइदा हुँदैन । मासलाई तान्न एक्सन फिल्म चल्नु नै पर्छ,’ उनले भने ।
अभिनेता निखिल उप्रेतीसँग मिलेर एउटा एक्सन फिल्मको तयारी भइरहेको पनि रमेशले जानकारी दिए । उनका अनुसार, निखिल आफैँले फिल्मको कथा लेखिरहेका छन् । उनले भने, ‘जतिबेला उसले हुन्छ भन्छ त्यसपछि हामी फ्लोरमा जान्छौं । एक्सनको किङ निखिल भएकाले मैले सबै जिम्मा उसैलाई दिएको छु ।’ उनले अहिले नेपाली फिल्ममा एक्सन हिरोको अभाव रहेको समेत बताए ।