३ दशकभन्दा लामो अभिनय करिअरमा अभिनेता सरोज खनालले कयौं यादगार फिल्ममा काम गरेका छन् । प्रायः हरेक फिल्ममा अभिनयको प्रशंसा कमाएका उनले करिअरमै पहिलो पटक फिल्म निर्देशन गरेका छन् । उनको पहिलो निर्देशकिय फिल्म ‘बगान’ यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्ममा उनी स्वयंले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।
खासमा खनाल फिल्ममा अभिनय गर्ने योजनामा थिएनन् । उनले अभिनेता भुवन केसीलाई प्रस्ताव राखेका थिए । भुवनले काम गर्ने वचन पनि दिएका थिए । तर, फिल्म छायांकनमा निस्कने बेला उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्न दौडधुपमा थिए । यसैले भुवनले काम गर्न भ्याएनन् र सरोज आफैंले अभिनय गरे । तर, निर्देशकले आफ्नै फिल्ममा अभिनय गर्न नहुने उनको अनुभव छ ।
एक टीभी अन्तर्वार्तामा उनले भने, ‘निर्देशकले आफ्नै फिल्ममा खेल्नु चाहिँ हुन्न रैछ । त्यो अनुभव ‘बगान’बाट भयो । मैले अरु सबै कलाकारको सट मोनिटर हेरेँ । आफ्नो चाहिँ हेरिनँ । म खिचिसकेपछि आफ्नो सिन मोनिटरमा हेर्दिनँ पनि । म त्यो स्कुलिङबाट आएकै होइन । हामी खेलेको फिल्म डबिङमा मात्र हेर्थ्यौं ।’ उनले फिल्मको सबैभन्दा कमजोर पात्र नै आफू रहेको समेत बताए ।
‘बगान’मा एकल आमाको कथा रहेको उनको भनाई छ । ‘मैले फिल्म बनाउने क्रममा नेपालमा १५ लाख एकल महिला रहेको थाहा पाएँ । धेरै एकल महिला उत्पीडनमा छन्,’ खनालले भने, ‘घरमा बुहारीको निधन हुँदा छोराको बिहे गरिदिनका लागि परिवारदेखि साथी-भाईसम्म लागिपर्छन् । तर, त्यही घरमा बुहारीको बारेमा त्यो सोचिन्न । यो भेदभाव किन भनेर मैले फिल्ममार्फत भनेको छु ।’
सकभर आफूले अभिनयलाई नै प्राथमिकता दिने बताउँदै खनालले भन्नैपर्ने कथामा फिल्म निर्देशन पनि गर्ने बताए । ‘फिल्म क्षेत्रमा यत्तिका वर्ष विताइयो । अब हामीलाई भीडको पछि लाग्न सुहाउँदैन । हामीले पृथक काम गर्ने हो,’ उनले भने । आफूलाई किताब पढ्दा धेरैपटक त्यसमाथि फिल्म बनाउने इच्छा लागेको उनले स्मरण गरे । ‘बगान’ आमा-छोरीको कथामा बनेको उनी बताउँछन् ।