सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र अभिनेता दयाहाङ राई पहिलो पटक फिल्ममा एकसाथ देखिने भएका छन् । ‘हाईवे’ र ‘ह्वाइट सन’का निर्देशक दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म ‘राजागन्ज’मा उनीहरुले साथमा काम गर्न लागेका हुन् । ‘कबड्डी’ सिरिजका निर्देशक तथा ‘जारी’का निर्माता रामबाबु गुरुङको निर्माण रहने फिल्म पुलिस थ्रिलर कथामा बन्न लागेको हो ।
फिल्ममा आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको पनि अभिनय रहनेछ । निर्माता गुरुङले निर्देशक रौनियार आफू फिल्म क्षेत्रमा काम गर्दादेखिकै साथी रहेको बताउँदै पहिलो पटक सहकार्य गर्ने अवसर जुरेकोमा खुसी व्यक्त गरे । यो फिल्म नेपाली फिल्म क्षेत्रका लागि नै कोशेढुङ्गा बन्न सक्ने उनको विश्वास छ ।
त्यस्तै, निकिताले अब्बल कलाकारहरुसँग अभिनय गर्नका लागि आफू उत्साहितका साथै केही डर महसुस भैरहेको बताएकी छन् । उनले अभिनेता विराज भट्टद्वारा निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । ‘राजागन्ज’ उनको दोस्रो फिल्म हो । आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको प्रस्तुति रहने यो फिल्मको छायांकन आगामी साउन १२ गतेबाट हुनेछ ।
फिल्मले दक्षिण एसियामा व्याप्त जात प्रथाको कथा पेश गर्नेछ, जहाँ छालाको रङलाई विशेष महत्त्व दिइन्छ । फिल्म एक गहुँगोरो महिला पुलिस अफिसरको वरिपरी घुम्नेछ, जसले जासूस बनेर देशमा जरा गाँडेर बसेको कुप्रथा अन्त्य गर्नेछिन् । ‘ह्वाइट सन’पछि निर्देशनमा फर्किन लागेका रौनियारको पहिलो फिल्म ‘हाइवे’ले भेनिस, पाम स्प्रिंग्स, फ्राइबर्ग र सिंगापुरमा पुरस्कार जितेको थियो ।