कुनै समय नेपाली फिल्ममा अभिनेत्री रेजिना उप्रेतीले राम्रै रजगज गरेकी थिइन् । आफ्नो करिअरमा ६० बढी फिल्ममा काम गरेकी उनी विवाहपछि भने अभिनयमा सक्रिय छैनन् । उनले फिल्ममा काम नगरेकै ७ वर्षभन्दा बढी भैसकेको छ । एक छोरीकी आमा भैसकेकी उनलाई फिल्ममा फर्किने इच्छा नभएको होइन । तर, उनलाई लिएर फिल्म बनाउन मेकरहरुले इच्छा देखाएका छैनन् ।
फिल्ममा काम गर्न छाडेको दिन मेकरहरुले फिल्म क्षेत्रबाटै ‘आउट’ गराइदिने उनको गुनासो छ । शुक्रबार एक कार्यक्रममा उनले सञ्चारकर्मीसँग भनिन्, ‘यहाँ पुरानोलाई लिएपछि फिल्म चल्दैन, त्यसैले नयाँलाई लिनुपर्छ भनेर सोचिन्छ । नयाँलाई अवसर दिनुपर्छ । तर, नयाँ र पुरानोको समिश्रणले झन् राम्रो हुन्छ । यहाँ काम गर्न छाडेको दिन फिल्म क्षेत्रबाटै मेकरहरुले ‘आउट’ गराइदिन्छन् ।’

राम्रो भूमिकाबाट प्रस्ताव आए आफू फिल्ममा काम गर्न तयार रहेको उनको भनाई छ । ‘अब पर्दामा देखिनका लागि मात्र गर्ने कुरा हुँदैन । देखिनकै लागि त मैले यसअघि नै धेरै फिल्म गरिसकेको छु । अब गर्दा दर्शकले सम्झने भूमिकामा काम गर्ने हो, चाहे १० वटै सिन होस् । फिल्म खेल्नकै लागि खेल्ने होइन कि मेरो क्यारेक्टरले समाजमा केही सन्देश दिओस् भन्ने लाग्छ,’ उनी सुनिइन् ।
आफूलाई हिरोइन भएरै काम गर्नुपर्छ भन्ने नलाग्ने रेजिनाको तर्क छ । विगतमा टेलिफिल्म र फिल्ममा विभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले रोल राम्रो भए जुनसुकै भूमिका निभाउन समस्या नभएको बताइन् । उनी भन्छिन्, ‘मैले चाहेको जस्तो भूमिका अफर आएको छैन । मलाई सुहाउने र काम गर्न इच्छा लागेको भूमिकाबाट अफर आए काम गर्छु । हिरोइन नै हुनुपर्छ भन्ने छैन ।’
आफू जीवनकालसम्म फिल्म क्षेत्रमै रहने उनको अठोट छ । अब फिल्म निर्माण र निर्देशनतर्फ मोडिने रेजिनाले संकेत गरेकी छन् । ‘मैले अरु जानेको छैन । म कुनै न कुनै माध्यमबाट फिल्म क्षेत्रमै रहन्छु । निर्माता/निर्देशक भएर आइन्छ या अभिनयमै सक्रिय रहन्छ, हेर्दै जाऊँ न,’ उनले भनिन्, ‘फिल्म निर्देशन भनेको सिकेर, बुझेर र जानेर गरिने कुरा हो । त्यसमाथि यो त आफ्नै क्षेत्र हो ।’

