मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’मा सौगात मानसिक सन्तुलन गुमेको भूमिकामा

फिल्मीखबर, काठमाडौं, 2023/06/30

saugat malla

 

भर्सटायल अभिनेता सौगात मल्लले फिल्म ‘अगस्त्य : च्याप्टर वान’मा आफ्नो भूमिकाबाट ‘सरप्राइज’ दिँदैछन् । फिल्मका लागि २० केजी तौल घटबढ गर्नुपर्ने चर्चाले नै उनको भूमिकालाई लिएर धेरैमा चासो बढेको थियो । भारतको गोरखपुर सेड्युल सकिएसँगै निर्माण टिमले सौगातको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । उनको लुक्सले फिल्मप्रति दर्शकहरुलाई अधैर्य बनाउन सक्नेछ ।

फिल्मीखबरलाई उपलब्ध तस्विरमा सौगात भारतको रेलवे ट्रयाकमा हिँडिरहेको देखिन्छ । उनलाई दुईवटा क्यामेराले खिचिरहेका छन् । उनको कपालले कुम छोएको छ । उनले लगाएको सर्ट मैलो देखिएको छ भने पाइन्टको दायाँ भाग फाटेको छ । सौगातको हुलियाले फिल्ममा उनी मानसिक सन्तुलन गुमेको भूमिकामा रहेको स्पष्ट बुझिन्छ । प्राप्त तस्विरमा उनलाई ठम्याउन गाह्रो पर्छ ।

भारतको गोरखपुरमा करिब तीन हप्ता छायांकन गरेपछि निर्माण टिम यसै साता नेपाल फर्किसकेको छ । अहिले भैरहवामा बाँकी छायांकन भैरहेको छ भने त्यसपछि राजविराज प्रस्थान गर्ने तयारीमा निर्माण टिम छ । नेपालमा फिल्मको छायांकन ४० दिनसम्म हुने निर्देशक सौरभ चौधरीले जानकारी दिए । उनका अनुसार, फिल्मको लागत अनुमान गरिएको भन्दा केही बढ्ने देखिएको छ ।

निर्देशक चौधरी स्वयंको लेखन रहेको फिल्ममा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराल पनि मुख्य भूमिकामा छन् । दुई श्रृंखलामा बन्न लागेको फिल्मको निर्मातामा प्रकाश मल्ल र अनिष तामाङ छन् । फिल्मको छायाँकार संजय लामा हुन् । निर्देशक चौधरीले फिल्मको दुवै श्रृंखलाको कथा तयार पारिसकेका छन् । यो फिल्म एक्सन-लभस्टोरी कथामा बन्नेछ ।