अभिनेताद्वय आकाश श्रेष्ठ र सलान बस्नेतको पहिलो सहकार्य रहेको फिल्म ‘हिँड्दा हिँड्दै’ले आगामी भदौ १ गतेबाट प्रदर्शन थाल्ने भएको छ । यसअघि गत माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, विभिन्न कारणले रिलिज हुन सकेको थिएन । नयाँ प्रदर्शन मिति घोषणासँगै बिहीबार फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा मित्रता र प्रेमलाई देखाइएको छ ।
कोरोना महामारीको समयमा छायांकन भएको फिल्ममा आकाश र सलोनसँगै रेखा शाह, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्गलगायतको अभिनय छ । मिलन आले मगरको निर्देशन रहेको फिल्ममा सुशील पंगेनीको लेखन छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् भने प्रमोद कुमार तामाङ र महादेश शाह सह-निर्मातामा छन् ।
आरआर फिल्म्सले वितरण गर्ने रोमान्टिक ड्रामामा सुमन कुमार तण्डुकारको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, गौतमराज खड्काको सम्पादन, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । गत वर्ष दुई फिल्मले अपेक्षाकृत प्रदर्शन गर्न नसकेका कारण आकाशलाई यो फिल्म व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाब छ ।