नेपालमा क्राइम-थ्रिलर जनरामा ज्यादै कम फिल्म बन्छन् । व्यावसायिक सफलताको सम्भावना कम हुने बुझाईले पनि यो जनरामा जोखिम मोल्न मेकरहरु आँट गर्दैनन् । यद्यपि, यो जनरा रुचाउने दर्शक भने नेपालमा उल्लेख्य छन् । यसबीच, क्राइम-थ्रिलर जनरामा बनेको फिल्म ‘परस्त्री’ बिहीबारबाट प्रदर्शनमा आएको छ । फिल्मको हिन्दी संस्करण भोलिबाट भारतमा प्रदर्शन हुँदैछ ।
प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौंको बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गर्यो । अभिनेत्री स्वस्तिमा खड्काले धेरैपछि फरक जनराको फिल्म हेर्न पाउँदा ‘फ्रेस’ महसुस भएको बताइन् । ‘फिल्म रमाइलो छ । दर्शकहरुले पनि मन पराउनुहुन्छ होला । फिल्ममा थोरै कलाकार भएता पनि सबैले होल्ड गराएर राख्नुहुन्छ । सबैको सहज अभिनय छ,’ उनले भनिन् ।
‘परस्त्री’का निर्देशक सुरज पाण्डेसँग स्वस्तिमाले फिल्म ‘लभ लभ लभ’मा एकसाथ काम गरेकी थिइन् । उनले सुरजको निर्देशनको पनि प्रशंसा गरिन् । ‘सुरजको पहिलो निर्देशन भए पनि नयाँ निर्देशकको फिल्म हो जस्तो बुझाउँदैन,’ उनले भनिन्, ‘हामी दुवैले ‘लभ लभ लभ’मा सँगै काम गरेका थियौं । त्यसबेला हामी १९/२० वर्षको थियो । अहिले ऊ निर्देशक हुँदा गर्व महसुस भएको छ ।’
अभिनेता खगेन्द्र लामिछानेले फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया जनाए । ‘म यथार्थपरक फिल्म बनाउन र खेल्न इच्छा राख्ने मान्छे हुँ । सस्पेन्स-थ्रिलर जनराको फिल्म हेर्दा बेग्लै मज्जा आउने गर्छ । यस्तो खालको फिल्म कमै बन्छ नेपालमा । हेर्दा मज्जा आयो । फिल्म हेरिरहँदा अब के होला भन्ने लागिरह्यो । कहीँ कतै अल्छि लागेन । कलाकारहरुको अभिनय स्वभाविक लाग्यो,’ उनले भने ।
निर्देशक सुरज पाण्डे प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित देखिए । आफ्नो तर्फबाट इमानदार प्रयास गरेको बताउँदै उनले भने- ‘प्रिमियरमा प्रतिक्रिया राम्रो पाए पनि आफ्नो काममा सन्तुष्ट कहिल्यै नहुने रैछ । फिल्ममा मैले अझै राम्रो गर्न सक्थेँ भन्ने लागिरहेको थियो । तै पनि म निकै खुसी छु ।’ निर्मात्री शर्मिला पाण्डेले प्रिमियरमा मिलेको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताइन् ।
लेखक तथा निर्माता दीपेन्द्र के. खनालले सिक्वेल बनाउने गरी फिल्मको अन्त्य गरिएको जानकारी गराए । ‘हामीले पार्ट टूका लागि फिल्मको त्यसरी नै अन्त्य गरेका छौं । चलाखीपनले के-के गर्यो भनेर यसमा देखाएका छौं । तर, कर्मको फल त मिल्छ नै । पार्ट टूमा त्यो आउँछ,’ उनले भने । नेपालमा बनेका क्राइम जनराको फिल्ममध्ये ‘परस्त्री’ सशक्त रहेको समेत उनले दाबी गर्न भ्याए ।
फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ । एक्स्ट्रा म्यारिटल अफेयर (विवाहेत्तर सम्बन्ध)ले निम्त्याउने समस्यामाथि फिल्म आधारित रहेको छ । ‘परस्त्री’मा निर्देशक पाण्डेले लेखक खनालको कथालाई दृश्यभाषामा इमानदारपूर्वक उतारेका छन् । तर, फिल्म केही सुस्त छ ।