असार १५ गते शुक्रबारका लागि प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘परस्त्री’ भोलि बिहीबारबाटै नेपालमा प्रदर्शन हुने भएको छ । भोलिबाटै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ प्रदर्शन हुने भएपछि ‘परस्त्री’को टिमले पनि शुक्रबार नकुर्ने निर्णय गरेको हो । नेपाल सरकारले भोलि बकर ईदको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।
फिल्मलाई बिहीबारबाटै रिलिज गर्न लाग्नुको कारणबारे निर्माता तथा लेखक दीपेन्द्र के. खनालले फिल्मीखबरसँग भने, ‘हामी फिल्म रिलिजको परम्परा कुल्चने पक्षमा थिएनौं । तर, नियम सबैलाई हुनुपर्छ । बलिउड फिल्म बिहीबार नै रिलिज हुन्छ भने हामी किन शुक्रबारसम्म कुर्ने ? बलिउड फिल्मका कारण शोमा पनि तलमाथि हुने भएकाले बिहीबारबाटै फिल्म प्रदर्शन गर्ने निधो गरेका हौं ।’
हिन्दी भाषामा डबिङ गरेर भारतमा समेत प्रदर्शन हुन लागेको फिल्मको हिन्दी भर्सन भने नेपालमा लाग्ने छैन । नेपालमा फिल्मको नेपाली संस्करण मात्र प्रदर्शन हुने निर्माण टिमले बताएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौंमा फिल्मको भव्य प्रिमियर गरिँदैछ । एक्स्ट्रा म्यारिटल अफेयर (विवाहेत्तर सम्बन्ध)को कथामा बनेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।
डिएस डिजिटलको व्यानरमा निर्मित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् । पोस्टर र ट्रेलर आएसँगै चर्चामा रहेको यस फिल्मले सुस्ताएको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।