प्रायः नेपाली कलाकार हरर फिल्मदेखि तर्सिन्छन् । अर्थात् काम गर्न रुचाउँदैनन् । यसको एउटै कारण हो, नेपालका हरर फिल्मले दर्शक तर्साउन सकेका छैनन् । र, नेपालमा यो जनराको सफलता दर शून्य बराबर छ । त्यसैले कलाकारहरुको रोजाईमा हरर जनरा पर्दैन । अभिनेत्री प्रियंका कार्कीमा भने हरर फिल्मप्रति विछट्टै मोह देखिन्छ । नेपालमा धेरै हरर फिल्म गर्नेमा उनै पर्छिन् ।
‘आवरण’, ‘माला’ र ‘चि मुसी चि’ गरी तीनवटा फिचर हरर फिल्ममा काम गरिसकेकी प्रियंकाले सर्ट फिल्म समेत हरर जनराको नै रोजेकी छन् । उनले अभिनय गरेको सर्ट फिल्म ‘किचकन्डी’ दुई हप्ताअघि युट्युबमा सार्वजनिक भएको छ । १५ मिनेटको उक्त फिल्ममा अंग्रेजी भाषाको प्रयोग बढी छ । प्रियंकाको शरीरमा भूतको आत्मा पसेपछिको घटनाक्रमलाई फिल्ममा देखाइएको छ ।
हरर प्रियंकाको रोजाईको जनरा हो वा हरर जनराले प्रियंकालाई रोजिरहेको हो, त्यो बुझ्न गाह्रो छ । तर, हरर जनराले व्यावसायिक सफलता भने उनलाई दिन सकेको छैन । हरर जनराको सर्ट फिल्मलाई समेत युट्युबमा भ्यूजको खडेरी छ । युट्युब रिलिजको तीन हप्तामा जम्मा २५ हजार भ्यूज छ । प्रतिक्रिया पनि खासै गतिलो मिलेको छैन । केहीले फिल्मलाई अल्छिलाग्दो भनेका छन् ।
गत वर्ष प्रियंकाको दुई फिल्म ‘चि मुसी चि र फूलवारी’ प्रदर्शन भएका थिए । यसपछि उनले नयाँ फिल्म साइन गरेको जानकारीमा छैन । बरु उनी विभिन्न टीभी रियालिटी शोमा निर्णायकको रुपमा व्यस्त छिन् । करिब ५/६ वर्षअघिसम्म फिल्ममा उनको सर्वाधिक माग हुने गर्थ्यो । तर, विवाहपछि त्यसमा धेरै हदसम्म ह्रास आएको देखिन्छ । हुन त करिअरमा उतार-चढाव सामान्य प्रक्रिया हो ।