निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले फिल्म ‘लिलिबिली’को दोस्रो श्रृंखला निर्माणको तयारी गरिरहेका छन् । फिल्मको अफर अभिनेता प्रदीप खड्कालाई गरिएको छ । उनीसँग निर्माण टिमको मौखिक सहमति भैसकेको जनाइएको छ । आइतबार फिल्मीखबरसँगको कुराकानीमा निर्देशक चाम्सले प्रदीपबाहेक अघिल्लो श्रृंखलाका कुनै कलाकारहरु नदोहोरिने बताएका थिए ।
फिल्म निर्माण हुन लागेको समाचार बाहिरिएसँगै दबाबमा परेका चाम्सले आइतबार साँझपख फेसबुकमा स्टाटस लेख्दै ‘लिलिबिली २’ निर्माण हुनेमा आफू सकारात्मक रहेको र अभिनेत्री जसिता गुरुङ बिना अपूरो हुने उल्लेख गरेका छन् । फिल्ममा जसिता पनि दोहोरिने सम्भावनातर्फ उनको संकेत हुनसक्छ । उनले अहिले आफूलाई फिल्मको बारेमा प्रश्न नगरिदिन पनि आग्रह गरेका छन् ।
निर्देशक चाम्स लेख्छन्, ‘लिलिबिली २’ बन्नेमा म निर्देशकको रूपमा एकदमै सकारात्मक छु । ‘लिलिबिली’मा जसिता गुरुङलाई मैले नै डेब्यू गराएको कलाकार हो, जसिता बिना ‘लिलिबिली २’ (निर्माण भएमा) अपूरो हुन जान्छ । अहिले म ‘गोर्खा वारियर’को प्रदर्शनीको तयारी कार्यमा एकदमै व्यस्त भएको कारणले कृपया अहिले मलाई ‘लिलिबिली २’को विषयमा प्रश्न नगरिदिनु होला ।’
‘लिलिबिली’बाट जसिताले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको भागको डबिङ अभिनेत्री सारा सिर्पालीले गरेको भए पनि दर्शक र समीक्षकले जसिताको अभिनयको प्रशंसा गरेका थिए । र, प्रदीपसँग उनको जोडी पनि निकै रुचाइएको थियो । ‘लिलिबिली २’ निर्माण हुने समाचार बाहिरिएसँगै दर्शकहरुले प्रदीप र जसिताको जोडी पुनः दोहोरिनु पर्ने धारणा राखिरहेका छन् ।