सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’लाई सिरिजको रुपमा अगाडि बढाइने भएको छ । आगामी चैत वा बैशाखदेखि यसको दोस्रो श्रृंखलाको छायांकन गर्ने तयारी गरिएको छ । फिल्ममा अघिल्लो श्रृंखलाका प्रमुख अभिनेता प्रदीप खड्का दोहोरिने लगभग निश्चित छ । उनीसँग निर्माण टिमको विभिन्न चरणमा कुराकानी भैसकेको छ । र, उनी फिल्मलाई लिएर सकारात्मक छन् ।
यतिबेला प्रदीप निर्देशक दिनेश राउतको एक फिल्मको पूर्व तयारीका लागि पोखरामा छन् । उनी काठमाडौं फर्किन साथ कागजी सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको जानकारी प्राप्त छ । ‘लिलिबिली’कै निर्देशक मिलन चाम्सले फिल्मको निर्देशन गर्नेछन् । चाम्सले फिल्ममा प्रदीप खड्काबाहेक अघिल्लो श्रृंखलाका कोही कलाकार नदोहोरिने र नयाँ विषयमा निर्माण हुने जानकारी दिए ।
(निर्माता सुदीप खड्का र अभिनेता प्रदीप खड्का)
उनले भने, ‘हामी धेरै अघिदेखि ‘लिलिबिली २’ बनाउने योजनामा थियौं । तर, विभिन्न कारणले पाँच वर्षपछि सम्भव हुँदैछ । अहिले म ‘गोर्खा वारियर’को लण्डन प्रिमियर र एक फिल्मको छायांकन गर्नुपर्ने भएकाले अलि व्यस्त छु । प्रदीप पनि अर्को फिल्मका लागि व्यस्त हुने भएकाले आगामी चैत अथवा बैशाखपछि छायांकन सुरु हुनसक्छ ।’ चाम्सका अनुसार, फिल्म लभस्टोरी कथामा बन्नेछ ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई मिलन चाम्स र सुदीप खड्काले मिलेर निर्माण गर्नेछन् । ‘लिलिबिली’ भने गोविन्द शाही (वितरक/निर्माता) र मिलन चाम्सको ब्यानरमा दर्ता थियो । निर्देशक चाम्सका अनुसार, निर्माता शाहीसँग आपसी समझदारीमा नै आफूहरुले ‘लिलिबिली २’ निर्माण गर्न लागेको जानकारी दिए । उनका अनुसार, फिल्मको अन्य श्रृंखलाहरु समेत निर्माण गरिनेछ ।
कतिपयले ‘लिलिबिली’लाई फ्लप फिल्म भन्ने गरेका छन् । तर, निर्देशक चाम्स आफूहरु यो फिल्मबाट घाटामा नभएको दाबी गर्छन् । ‘हामीबीचकै आन्तरिक कारणले गर्दा फिल्म घाटामा छ भन्ने पर्न गएको हो । तर, हामी घाटामा थिएनौं । यसैले पनि ‘लिलिबिली २’ निर्माण गर्न लागेका हौं,’ चाम्सले भने । ‘लिलिबिली’बाट डेब्यू गरेकी जसिता गुरुङ दोस्रो श्रृंखलामा भने नअटाउने भएकी छन् ।