बलिउड सुपरस्टार अमिताभ बच्चन र साउथ फिल्मका सुपरस्टार कमल हासनले ३८ वर्षपछि फिल्ममा एकसाथ काम गर्ने भएका छन् । उनीहरुले नाग अश्विनको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रोजेक्ट के’मा काम गर्न लागेका हुन् । यसै हप्ता कमल फिल्ममा अनुबन्ध भएका हुन् । फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत हुनेछन् । अमिताभ गत वर्ष नै फिल्ममा अनुबन्धित भएका थिए ।
करिब ५ सय करोडको लागतमा निर्माण हुन लागेको फिल्ममा प्रभास र दीपिका पादुकोणको पनि मुख्य भूमिका रहनेछ । प्रशस्त भीएफएक्स प्रयोग हुने फिल्मको ७० प्रतिशतभन्दा बढी काम पूरा भैसकेको जनाइएको छ । निर्देशक अश्विन स्वयंको लेखन रहेको फिल्ममा अभिनेत्री दिशा पाटनी विशेष भूमिकामा देखिने बताइएको छ । फिल्म सन् २०२४ को १२ जनवरीमा प्रदर्शनमा आउनेछ ।
कमल हासनले ३८ वर्षपछि अमिताभ बच्चनसँग काम गर्न आफू उत्साहित रहेको बताएका छन् । फिल्ममा अनुबन्ध भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले अमित बच्चनजीसँग पहिला पनि काम गरिसकेको छु । तर पनि हरेक पटक यस्तो लाग्छ कि मानौं पहिलो पटक हो । अमितजी आफूलाई हरेक पटक एक नयाँ रुप दिने गर्नुहुन्छ । म ‘प्रोजेक्ट के’को व्यग्र पखाईमा छु ।’
त्यस्तै, अमिताभ बच्चनले पनि कमल हासनलाई फिल्ममा स्वागत गर्दै फेरि काम गर्न पाउँदा खुसी लागेको बताएका छन् । यी दुई स्टारले सन् १९८५ मा प्रदर्शन भएको फिल्म ‘गिरफ्तार’मा काम गरेका थिए । सुपरस्टार रजनीकान्तको पनि मुख्य भूमिका रहेको फिल्ममा कमलले अमिताभको साथीको भूमिका निभाएका थिए । ३८ वर्षपछि फेरि उनीहरुलाई एकसाथ हेर्न दर्शक अधैर्य छन् ।