यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बगान’को आइतबार नयाँ गीत सार्वजनिक गरिएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको स्याड भर्सनको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत तथा अञ्जु पन्तको स्वर छ । गीतमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको छ । यस गीतले एकल महिलाको मनोभावलाई दर्शाउन खोजेको छ ।
अभिनयमा पारंगत मानिने सरोज खनालले फिल्मको निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशित फिल्म हो । फिल्ममा खनाल स्वयंको पनि अभिनय छ । करिश्मा र सरोजसँगै फिल्ममा प्रमिला कार्की (नव-अभिनेत्री), नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतको अभिनय छ । फिल्ममा अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । स्वप्न नीरवले फिल्मको कथा लेखेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको फिल्ममा सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर र मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ ।

