असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनका लागि अनुमति दिएको छ । गत बुधबार सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिएको थिएन । बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् शुक्रबार फिल्मले जाँचपासको प्रमाणपत्र पाएको हो ।
बोर्डले १६ वर्षमुनिका दर्शकलाई अभिभावकसँग मात्र हेर्नुपर्ने गरी फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के. खनालले ६ वटा दृश्य परिमार्जित गरिएको जानकारी दिए । सेन्सर बोर्डका अधिकारीहरुले फिल्म मन पराएको पनि खनालले बताए । ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । फिल्मलाई हिन्दी भाषामा स्वरांकन गरिएको छ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथामा बनेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशकिय फिल्म हो । शर्मिला पाण्डे निर्माता रहेको ‘परस्त्री’का छायाँकार निरज कँडेल हुन् । फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।