मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अन्तिम संस्कार’मा डीएसपी दीया, विवाहित रेश्मा

फिल्मीखबर, काठमाडौं, 2023/06/22

मर्डर मिस्ट्रीको कथामाथि आधारित भएर बनेको फिल्म ‘अन्तिम संस्कार’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्म सस्पेन्स-थ्रीलर जनरामा छ । जसको नेपालमा बजार नै छैन भनिन्छ । हुन पनि लभस्टोरी, एक्सन र कमेडीकै बोलबाला छ । तर, निर्देशक प्रदीप शाहीले दर्शकलाई फरक स्वाद दिनका लागि ठूलो जोखिम मोलेका छन् । र, उनी फरक कथा रुचाइनेमा पूर्ण विश्वस्त छन् ।

फिल्ममा रहस्यमय हत्याको अनुसन्धान गरिरहेको प्रहरी (डीएसपी)को भूमिका अभिनेत्री दीया पुनले निभाएकी छन् । यसअघिका फिल्ममा गाउँले चरित्र मात्र निर्वाह गरेकी उनी फरक क्यारेक्टर भएकै कारण ‘अन्तिम संस्कार’मा जोडिएकी हुन् । यसकारण पनि उनमा आत्मसन्तुष्टि छ । बिहीबार पत्रकारसँग गफिँदै उनले भनिन्, ‘यो फिल्म गर्न मलाई फरक क्यारेक्टर र कथाले तानेको हो ।’

 

diya pun and reshma ghimire


उनी हरेक फिल्ममा कुनै क्यारेक्टर गर्नु अगाडि रिसर्च गर्छिन् । ‘अन्तिम संस्कार’मा डीएसपीको भूमिका गर्नका लागि भने प्रहरीको बारेमा उनलाई खासै थाहा थिएन । चिनेजानेका पनि कोही थिएनन् । यसैले उनलाई चरित्र निर्माण गर्न गाह्रो भएको थियो । महिला प्रहरीको मनोविज्ञान बुझ्न उनले केही विदेशी ड्रामा हेरिन् । त्यहाँ उनले महिला प्रहरीलाई कसरी प्रस्तुत गरेको छ भन्ने बुझ्न पाइन् ।

चरित्र निर्माणको क्षण सम्झँदै दीया भन्छिन्, ‘मैले डीएसपीको क्यारेक्टर बुझ्नका लागि कुनै परिस्थितिमा उसले के भोगिरहेको हुन्छ र कस्तो महशुस गरिरहेको हुन्छ भनेर म आफैंले कल्पना गरेँ ।’ डीएसपीको भूमिका आफूलाई चुनौतीपूर्ण रहेको उनको भनाई छ । आफूलाई क्वालिटीको फिल्म गर्ने इच्छा रहेको र क्यारेक्टरमा चुजी भएकाले नै आफू धेरै फिल्ममा नदेखिएको उनी बताउँछिन् ।

फिल्ममा अभिनेत्री रेश्मा घिमिरेको पनि महत्त्वपूर्ण भूमिका छ । उनले करिब ८ वर्षपछि फिल्ममा कमब्याक गरेकी हुन् । फिल्ममा उनी विवाहित महिलाको भूमिकामा छिन् । उनलाई कलाकार भएपछि जुनसुकै भूमिका गर्न सक्नुपर्छ भन्ने लाग्छ । यसैले विवाहित महिलाको भूमिका गर्न उनले कुनै संकोच मानिनन् । अब उनलाई जुनसुकै भूमिका गर्न सक्छु भन्ने आत्मविश्वास पनि पलाएको छ ।

‘मलाई कथा र क्यारेक्टर मन परेपछि फिल्म गरेको हुँ । र, फिल्ममा मेरो जति रोल छ, त्यति काफी छ । मेरो क्यारेक्टर फिल्मको ‘टर्न ओभर’ हो,’ उनी भन्छिन्, ‘अब लभस्टोरी होस् वा बोल्ड भूमिका, जस्तो पनि गर्छु र गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’ उनी ‘अन्तिम संस्कार’को कथावस्तु यूनिक रहेको दाबी गर्छिन् । फिल्मले नेपालको कल्चरलाई पनि प्रस्तुत गरेको रेश्माको भनाई छ ।