मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फ्लप श्रृंखला नरोकिए पनि आर्यनलाई छैन फिल्मको अभाव

फिल्मीखबर, काठमाडौं, 2023/06/22

अभिनेता आर्यन सिग्देलको करिअर जति छिटो उचाइँमा पुग्यो, त्यही गतिमा ओरालो झर्‍यो । कुनै समय उनलाई नेपाली फिल्मको ‘नम्बर वान नायक’ भन्ने गरिन्थ्यो । लभस्टोरी फिल्ममा उनी निर्विकल्प झैं थिए । फिल्मको सफलता उनलाई सामान्य थियो । तर, अहिले असफलताले उनलाई छायाँ झैं पछ्याइरहेको छ । विगत ६/७ वर्षदेखि उनी एउटा हिट फिल्मका लागि भौतारिएका छन् ।

उनले आफ्नो करिअर उठाउन केसम्म गरेनन् । आफ्नै लगानीमा फिल्म ‘कायरा’ समेत बनाए । तर, फ्लप श्रृंखला बरकरार रह्यो । अघिल्लो वर्ष प्रदर्शित फिल्म ‘डिसेम्बर फल्स’प्रति उनलाई ठूलो आशा थियो । फिल्मको पोस्ट प्रोडक्सनमा समेत उनी जुटेका थिए । तर, फिल्मै कमजोर हुँदा बक्स अफिसमा टाँट पल्टियो । यो फिल्मको असफलताले आर्यनलाई निराश र हतास तुल्याएको छ ।

 

Aaryan sigdel


यद्यपि, फ्लपको श्रृंखलामा पूर्णविराम नलागे पनि आर्यन फिल्मविहीन भने छैनन् । अहिले उनको पाइपलाइनमा ५ वटा फिल्म छन् । ‘डिसेम्बर फल्स’ फ्लप भएसँगै यसको सिक्वेल घोषणा गरिएको थियो, जसमा आर्यनले अभिनय गर्दैछन् । तर, यो फिल्म कहिले बन्छ, टुंगो छैन । त्यस्तै, उनीसँग निर्देशक मधुसुदन भट्टराईको फिल्म ‘दौँतरी’ पनि छ । यो फिल्म अर्को वर्ष निर्माण हुन सक्नेछ ।

उनले कोरोना महामारीको समयमा कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरर’ सम्झौता गरेका थिए । केही दिन वर्कसप समेत भएको थियो । तर, अहिलेसम्म निर्माणको कुनै सुरसार छैन । आर्यन हालै दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जीवनी’मा जोडिएका छन् । निर्देशक श्रेष्ठका अनुसार, आगामी भदौ महिनाबाट फिल्मको छायांकन सुरु हुनेछ ।

आर्यनसँग उनको ‘लक्की निर्देशक’ दिनेश राउतको पनि एउटा फिल्म छ । शहीद गंगालाल श्रेष्ठको जीवनीमा बन्न लागेको फिल्ममा उनले अभिनय गर्दैछन् । यो फिल्म अर्को वर्ष बन्न सक्नेछ । यसरी हेर्दा आर्यनलाई फिल्मको अभाव छैन । उनीप्रति मेकरहरुको विश्वास कायम देखिन्छ । अब सम्झौता गरेका यी पाँच फिल्मले कस्तो नतिजा दिन्छन्, त्यसले उनको करिअरमा ठूलो अर्थ राख्नेछ ।