हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवादलाई लिएर नेपालमा भैरहेको विवादको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सेन्सर बोर्डले संवाद हटाउन लगाएर नै प्रदर्शन अनुमति दिएको प्रष्टीकरण दिइन् ।
मन्त्री शर्माले भनिन्, ‘सेन्सर बोर्डले स्वदेशी अथवा विदेशी फिल्मको प्रदर्शनभन्दा अगाडि सेन्सर गर्ने गर्छ । त्यसैगरी ‘आदिपुरुष’मा सीतालाई भारतीय छोरी भन्ने आशयले भावना व्यक्त भएको पाइएपछि त्यसलाई हटाउने निर्णय गरेरै सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको हो ।’ फिल्मको मूल अंशबाट नै संवाद हटाउने विषयमा भने पराराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको उनको भनाई छ ।
काठमाडौं महानगरपालिकाले ‘आदिपुरुष’मा समावेश संवाद नसच्चाएसम्मका लागि सबै हिन्दी फिल्मको प्रदर्शन रोकेको विषयमा भने मन्त्री शर्माले आफ्नो क्षेत्राधिकार बुझ्न सचेत गराएकी छन् । सीता नेपालकी छोरी हुन् भन्नेमा कसैको दुईमत नरहेको बताउँदै उनले स्टन्ट गरेर जनताको भावनामा नखेल्न काठमाडौं महानगरका मेयर बालेन शाहप्रति घुमाउरो शैलीमा कटाक्ष गरेकी छन् ।
‘सबैले आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ । स्टन्ट र भावनामा खेल्ने भन्दा पनि यसको दीर्घकालिन समाधानका लागि हामीले सोच्नुपर्छ । दीर्घकालिन समाधानका लागि हामीले परराष्ट्र मन्त्रालय अन्तर्गत कुराहरु अगाडि बढाइसकेका छौं,’ उनले भनेकी छन् । मन्त्री शर्माको अभिव्यक्तिबाट भारतीय फिल्मको प्रदर्शन रोकेर काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकार मिचेको भन्ने आशय बुझिन्छ ।