लण्डनस्थित संसारकै दोस्रो ठूलो थिएटर चेन आइम्याक्स सिनेवर्ल्डमा हुन लागेको मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को विश्व प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अतिथिको रुपमा सहभागी हुने भएका छन् । बुधबार निर्देशक चाम्सले उनलाई प्रिमियरमा सहभागिताका लागि निम्तो पत्र दिएका थिए । र, साम्पाङले प्रिमियरमा आफू सहभागी हुने वचन दिएका छन् ।
प्रिमियरको निम्तो पत्र बुझ्ने क्रममा मेयर साम्पाङले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आफ्नो पूर्ण साथ-सहयोग रहेको बताउँदै गोर्खालीको कथालाई संसारभर फैलाउनु पर्ने बताएका छन् । उनको विभिन्न श्रमदान अभियानमा बेलायतबाट उल्लेख्य सहयोग जुटेको छ । त्यसका लागि बेलायतबासीलाई धन्यवाद दिन पनि मेयर साम्पाङ बेलायत जान तयार भएको जनाइएको छ ।
आगामी भदौ २४ (१० सेप्टेम्बर) मा ‘गोर्खा वारियर’लाई आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गर्न लागिएको हो । यो हलमा ‘जेम्स बण्ड’, ‘मिसन इम्पोसिबल’, ‘बुलेट ट्रेन’ जस्ता चर्चित हलिउड फिल्मको प्रिमियरदेखि लण्डन फिल्म फेस्टिभल समेत आयोजना भैसकेका छन् । आइम्याक्स सिनेवर्ल्डमा नेपाली फिल्मको प्रिमियर गर्ने निर्देशक चाम्सको २० वर्षदेखिको सपना थियो, जुन अब पूरा हुँदैछ ।
यस फिल्मको प्रिमियरका लागि बेलायती राजपरिवारका सदस्यहरु, ब्रिटेनका सांसदहरु, बेलायती सैनिकका जनरल, ब्रिटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, नेपाली दूतावास, विश्वका प्रख्यात सेलिब्रिटीहरु लगायतलाई निम्तो दिइएको छ । सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बनेको हो ।