मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सञ्जीवनी’मा आर्यनको जोडी ‘सकम्बरी’ कुसुम

फिल्मीखबर, काठमाडौं, 2023/06/21

aaryan sigdel and kusum sharma

 

गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी कुसुम शर्मा अब हिरोइन बन्ने भएकी छन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जीवनी’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ । मंगलबार एउटा पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम र मुख्य कलाकारको बारेमा जानकारी गराइएको हो ।

पोस्टरमा आर्यन रातो रंगको स्कूटर हाँकिरहेको अवस्थामा चित्रित छन् । निराश र गम्भीर भावमा प्रस्तुत उनको कपाल र दाह्री भने फूलेको छ । उनको पछाडि कुसुम बसेकी छिन्, जो कानमा हेडफोन लगाएर आर्यनतिर हेर्दै हाँसिरहेकी छन् । पोस्टरमा एउटा प्रश्न सोधिएको छ- ‘के प्रेममा उमेर साँच्चै महत्त्वपूर्ण छ ?’ फिल्मको मूल कथा नै यही प्रश्नको वरिपरि घुम्ने संकेत पोस्टरले दिन्छ ।

आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्ममा आर्यन र कुसुमका साथै श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठको पनि अभिनय रहनेछ । आशिर सुवेदी प्रस्तुतकर्ता रहेको फिल्म सिल्भर लेक पिक्चर्डको ब्यानरमा बन्न लागेको हो । फिल्म लभस्टोरी कथामा बन्ने निर्देशक श्रेष्ठले जानकारी दिए । यसअघि उनले ‘कामचोर’, ‘सकुन्तला’ र ‘चिमुसीचि’ गरी तीन फिल्मको निर्देशन गरिसकेका छन् ।

निर्देशक श्रेष्ठ फिल्ममा आर्यनको म्याचुयर्ड (परिपक्व) क्यारेक्टर रहेको जानकारी दिए । ‘उहाँले यस अगाडि धेरै लभस्टोरी फिल्ममा काम गर्नुभयो । तर, यो उहाँको करिअरकै फरक लभस्टोरी हुनेछ,’ उनले कुसुमलाई लिनुको कारणबारे पनि भने, ‘आर्यनजीको अघि फुच्ची देखिने महिला पात्र चाहिएको थियो । त्यसमा कुसुमलाई फिट देख्यौं । फिल्मको क्यारेक्टरमा उहाँ फिट देखिनुहुन्छ ।’