अभिनेता सरोज खनालको पहिलो निर्देशकिय फिल्म ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार इन्टरनेट रिलिज भएको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको छ । उनलाई एकल आमाको रुपमा चित्रण गरिएको छ । १ मिनेट १३ सेकेन्ड लम्बाईको टिजरको क्लाइमेक्समा कलाकार नीर शाहलाई फर्काएको संवादमा करिश्माको अभिनय मनछुने छ ।
एकल महिलाको इच्छा, चाहना र परिवारले गर्ने व्यवहारलाई टिजरमार्फत् प्रस्तुत गरिएको छ । वृद्धाश्रमबाट सुरु भएको टिजरमा करिश्मासँगै सरोज खनाल, प्रमिला कार्की (नव अभिनेत्री), बसुन्धरा भुषाल र मिथिला शर्मा पनि प्रस्तुत छन् । स्वप्न नीरवले लेखेको कथामाथि बनेको फिल्ममा अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । यो फिल्म यही असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्य गरेको ‘बगान’को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भी.एफ.एक्स, रेनिश फागोको कलर करेक्शन तथा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर छ ।