मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा प्रतिबन्ध लगाइएका ती बलिउड फिल्म

फिल्मीखबर, काठमाडौं, 2023/06/20

यतिबेला नेपालमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवादले ठूलो विवाद जन्माएको छ । यही संवादका कारण सोमबारबाट काठमाडौंसहित विभिन्न शहरमा फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । काठमाडौं र पोखरा महानगपालिकाले त फिल्मको सो संवाद भारतमा नसच्चाएसम्म सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शन रोक्ने निर्णय नै गरेको छ ।

‘आदिपुरुष’ त केही शहरमा प्रतिबन्ध भएको हो । यसअघि केही भारतीय फिल्म नेपालमै प्रतिबन्ध भएका घटना पनि छन् । यसको सबैभन्दा ठूलो घटनाको रुपमा अभिनेता ऋतिक रोशनको फिल्म ‘मिशन कश्मीर’लाई लिइन्छ । सन् २००० मा यो फिल्म रिलिज भएको थियो । त्यसबेला ऋतिकले ‘नेपाल र नेपाली मन पर्दैन’ भनेको भन्दै देशका विभिन्न शहरमा ठूलो हुल दंगा मच्चिएको थियो ।

 

chandni chowk to china and mission kasmir


ऋतिक रोशनविरुद्ध भएको प्रदर्शनमा २ जनाको ज्यान समेत गयो । जनताको आक्रोशलाई शान्त पार्न त्यसबेला सरकारले ‘मिशन कश्मीर’सहित ऋतिकको सबै फिल्ममाथि नेपालमा प्रतिबन्ध लगाएको थियो । पछि पत्रकार रवीन्द्र मिश्रले ऋतिकसँग बिबिसीका लागि अन्तर्वार्ता लिएका थिए । र, ऋतिकले आफूले नेपाल र नेपालीको बारेमा कहीँ कतै केही नबोलेको प्रष्टीकरण दिएका थिए ।

नेपालमा भारतीय फिल्म प्रतिबन्ध भएको अर्को ठूलो घटना पनि छ । सन् २००९ मा बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘चाँदनी चोक टु चाइना’लाई नेपाल सरकारले नै प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । फिल्ममा ‘गौतम बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने संवाद थियो । यही संवादका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालमा उक्त फिल्मको प्रदर्शन नै रोकेको थियो ।

सूचना मन्त्रालयका तत्कालिन प्रवक्ता नारायण प्रसाद रेग्मीले ‘चाँदनी चोक टु चाइना’को प्रदर्शन प्रतिबन्धबारे भनेका थिए, ‘हामीले पूरै नेपालमा फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएका छौं । सेन्सर बोर्डले प्रदर्शनका लागि अनुमति दिनुभन्दा अगाडि विवादास्पद संवाद हटाउन लगाएको थियो । तर, मानिसको भावनालाई मध्यनजर गर्दै हामीले फिल्मको प्रदर्शनमा नै प्रतिबन्ध लगाएका छौं ।’

सन् २०११ मा फिल्म ‘देली बेली’ पनि केही दिन नेपालमा प्रतिबन्ध भएको थियो । यो फिल्मको अश्लील संवादलाई लिएर काठमाडौं जिल्ला प्रशासनले प्रदर्शन रोक्न निर्देशन दिएको थियो । पछि उक्त संवाद संशोधित भएपछि नेपालमा फिल्म पुनः प्रदर्शन भएको थियो । सन् २०१३ मा अश्लील दृश्‍य र संवादका कारण अर्को बलिउड फिल्म ‘मस्ती’लाई पनि नेपालमा चलाउन दिइएको थिएन ।