नेपाली फिल्म क्षेत्रमा ‘नम्रता’ नाम गरेका तीनजना अभिनेत्री छन् । जसमध्ये ‘नोभेम्बर रेन’ फेम्ड अभिनेत्री नम्रता श्रेष्ठको करिअर मात्र सुखद देखिन्छ । फिल्म ‘अन्तराल’बाट डेब्यू गरेकी नम्रता सापकोटाको करिअर भने न खराब न अपेक्षाकृत छ । अहिलेसम्म उनले झन्डै एक दर्जन फिल्ममा काम गरिसकेकी छन् । तर, कुनैबाट उनले व्यावसायिक सफलताको महशुस गर्न पाएकी छैनन् ।
यद्यपि, नम्रता अभिनयमा भने अब्बल मानिन्छिन् । फिल्म असफल भैरहेता पनि उनको अभिनयको हमेशा प्रशंसा हुँदै आएको छ । यसैले त करिअरको सुरुवाती समयदेखि उनी खासै फिल्मविहीन हुनु परेको छैन । वर्षमा एउटासम्म फिल्ममा उनले काम गरेकै हुन्छिन् । म्यूजिक भिडियोमा पनि उनले निरन्तर काम गर्दै आइरहेकी छन् । मात्र उनले नपाएको भनेको फिल्मको सफलता हो ।
अघिल्लो वर्ष उनी अभिनीत फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो । यस वर्षका लागि उनको पहिलो फिल्म ‘नम्बरी सुन’ आगामी भदौ १ गतेबाट प्रदर्शन हुँदैछ । नम्रतालाई यो फिल्म सफल हुनुपर्ने दबाब छ । किनकि, डेब्यू फिल्मदेखिको असफलताले उनको करिअरलाई सकसपूर्ण बनाएको छ । ‘नम्बरी सुन’ले व्यावसायिक सफलता हासिल गरेको खण्डमा उनलाई ठूलो राहत मिल्नेछ ।
नम्रता बेला-बेलामा आफ्नो अभिव्यक्तिका कारण चर्चामा आउने गरेकी छन् । कोरोना महामारीको समयमा उनले नेपाली फिल्ममा नेपोटिज्म र ग्रुपिज्म व्याप्त रहेको भन्दै अभिव्यक्ति दिएपछि त्यसले ठूलो बहस सिर्जना गरेको थियो । त्यस्तै, केही समयअघि एक टीभी अन्तर्वार्तामा आफ्नो विवाह नभए पनि बच्चा जन्माउने योजना रहेको बताएपछि नम्रता एकाएक चर्चाको पात्र बनेकी थिइन् ।