तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साहरा कार्कीले इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन् । आफ्नै डेब्यू फिल्मका अभिनेता फिरोज तिमल्सिनासँग उनले असार ३ गते अमेरिकामा औंठी साटासाट गरेकी हुन् । दुवैले इन्गेजमेन्टका तस्विरहरु सामाजिक सञ्जालमा सेअर गरेका छन् । साहराले ‘हाम्रो सधैंभरिको सुरुवात’ भनेर उल्लेख गरेकी छन् ।
गत वर्ष फिरोजले साहरालाई औंठी लगाइदिँदै बिहेको प्रस्ताव राखेका थिए । ‘दर्पण छायाँ २’मा काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुरण भएको थियो । फिल्ममा साहराको जोडी अभिनेता पुष्प खड्कासँग बाँधिएको थियो भने फिरोज उनीहरुको घनिष्ट साथीको भूमिकामा थिए । यही फिल्ममा काम गर्न साहरा अमेरिकाबाट नेपाल आएकी थिइन् । फिल्मको निर्माता उनका माता-पिता थिए ।
‘दर्पण छायाँ २’मा अभिनयको प्रशंसा भएपनि साहराले त्यसपछि फिल्ममा काम गरेकी छैनन् । फिरोज भने नेपालमा रहँदा ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टर थिए । उनी गायक पनि हुन् । फिरोज र साहराले ‘मेरी प्रिया’ र ‘किन’ गीतको भिडियोमा पनि एकसाथ अभिनय गरेका छन् । उनीहरुले यही महिना विवाह गर्ने जानकारी प्राप्त छ ।