नेपाली फिल्ममा अभिनेताको रुपमा भित्रिएका थिए, सुरज पाण्डे । आमा शर्मिला पाण्डेको निर्माण रहेको फिल्म ‘लभ लभ लभ’मा उनको मुख्य भूमिकामा थियो । उनको अपोजिटमा अभिनेत्री स्वस्तिमा खड्का थिइन् । फिल्म व्यावसायिक रुपमा सफल नभए पनि उनको अभिनयको भने थोरबहुत प्रशंसा भएको थियो । तर, पहिलो फिल्मबाटै सुरजले अभिनय यात्रालाई पूर्णविराम लगाए ।
अब उनी निर्देशकको रुपमा उदाएका छन् । उनको डेब्यू निर्देशित फिल्म ‘परस्त्री’ यही असार १५ गतेबाट प्रदर्शन हुँदैछ । नेपाली र भारतीय भाषामा तयार भएको यो फिल्मलाई भारतमा पनि प्रदर्शन गरिँदैछ । गत महिना सार्वजनिक भएको ट्रेलर हेर्दा सुरजले पहिलो फिल्ममा नै चुनौतीपूर्ण विषयलाई प्रस्तुत गर्न खोजेको देखिन्छ । ट्रेलरले फिल्मको दृश्यभाषा सशक्त रहेको छनक दिन्छ ।
सुरजले पहिलो निर्देशन अनुभवबाट फिल्म बनाउने काम सजिलो छैन भन्ने बुझेका छन् । एक भेटमा उनले भने, ‘मेरो अनुभवमा त फिल्म बनाउने काम गाह्रो रैछ । यद्यपि, फिल्मका लागि पूर्वतयारी राम्रोसँग गरेका थियौं । टिम राम्रो थियो । त्यसले गर्दा सजिलैसँग काम गरियो ।’ फिल्मले उठाएको कथा नेपाली समाजमा घटिरहेकी घटनासँग केही हदसम्म मिल्दोजुल्दो रहेको उनको भनाई छ ।
‘विवाहेत्तर सम्बन्धको कथामाथि फिल्म बनेको छ । अहिले समाजमा घटिरहेकै घटनासँग मिल्दोजुल्दो विषयलाई प्रस्तुत गरेका छौं । फिल्मको कथावस्तु समाजसँग पूरै नमिले पनि कहीँ कतै मिल्न सक्छ । फिल्म थ्रिलर जनरामा छ,’ निर्देशक पाण्डे भन्छन्, ‘थ्रिलर जनरामा पहिला बनेका फिल्मभन्दा चाहिँ एकदमै बेग्लै छ । फिल्मको कथावस्तु नै फरक छ । फिल्म ‘लार्ज स्केल’मा बनेको छ ।’
फिल्ममा अभिनेत्री शिल्पा मास्केको बोल्ड भूमिका छ । अघिल्ला फिल्महरुमा उनले यसप्रकारको भूमिका गरेकी थिइनन् । शिल्पा नै रोजाईमा कसरी परिन् त ? भन्ने प्रश्नमा सुरज भन्छन्, ‘उहाँको मैले ‘द ब्रेकअप र कागजपत्र’ हेरेको थिएँ । त्यसमा उहाँको काम मन परेको थियो । यो फिल्ममा चरित्र चुनौतीपूर्ण भएपनि उहाँले गर्न सक्नुहुन्छ भन्ने विश्वास थियो र राम्रो काम पनि गर्नुभएको छ ।’