Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालका वितरकले नै गरे ‘आदिपुरुष’ नचलाउने घोषणा

फिल्मीखबर, काठमाडौं, 2023/06/19

adhipurus

 

भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवादलाई लिएर भैरहेको विवादले नेपालमा उग्र रुप लिएको छ । काठमाडौं, पोखरा, धरानलगायतका ठूला शहरमा सोमबारबाट फिल्मको प्रदर्शन रोकिएको छ । हल व्यवसायीहरुले पनि शान्ति सुरक्षाका कारण फिल्म हटाएपछि नेपाल वितरक कम्पनी व्यंकटेस इन्टरटेनमेन्टले देशभर फिल्म नचलाउने औपचारिक घोषणा गरेको छ ।

मनोज राठी समुहको व्यंकटेस इन्टरटेनमेन्टले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘का.म.न.पाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिको आधारमा उपत्यका हल व्यवसायीले शान्ति सुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेको कारण तथा देशका विभिन्न नगरपालिकाका मेयरहरुले पनि बन्दको आदेश दिएका कारण प्रदर्शन बन्द भएको व्यहोरा अवगत गराइन्छ ।’

‘आदिपुरुष’ दुई करोड २० लाख नेपाली रुपैयाँ बराबरमा नेपालमा भित्रिएको चर्चा छ । यो रकम उठाउन फिल्मले पाँच करोडमाथि कमाई गर्नुपर्ने हुन्थ्यो । तर, तीन दिनमै नेपालमा फिल्मको प्रदर्शन रोकिँदा वितरकलाई ठूलो आर्थिक क्षति भएको छ । विभिन्न नगरपालिकाहरुले फिल्मको रिलिज रोक्न दिएको आदेशविरुद्ध आफूहरु कानुनी उपचारमा पनि नजाने वितरक राठी बताउँछन् ।

फिल्ममा प्रयोग ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद भारतमा सच्चाउन काठमाडौंका मेयर शाहले तीन दिनको म्याद दिएका थिए । तर, संवाद सच्चाउनुको सट्टा सीताको जन्मस्थानबारे त्यस संवादमा उल्लेख नभएको भनेर निर्माताले पत्र पठाएपछि काठमाडौं महानगरले सोमबारबाट सबै भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय गर्‍यो । र, यसको प्रभाव अन्य शहरमा पनि पर्‍यो ।