
काठमाडौं र पोखरा महानगरपालिकापछि धरान उपमहानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी (सीता) भारतकी छोरी हुन्’ भन्ने आशयको संवादप्रति आपत्ति जनाउँदै उक्त फिल्ममाथि प्रदर्शनमा रोक लगाउने निर्णय भएको एक भिडियो सन्देश जारी गर्दै बताएका छन् ।
‘हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमसत्तामा आँच आउने कुनै किसिमको सोच-विचार, अभिव्यक्ति र व्यवहार हामीलाई सैह्य छैन,’ उनले भनेका छन्, ‘आदिपुरुष’ फिल्ममा सीता भारतमा जन्मिएको भन्ने खालको संवाद छ अरे भन्ने सुनेको छु । त्यो आपत्तिजनक विषय हो । त्यसैले सम्बन्धित फिल्म धरानको सिनेमा घरमा पनि प्रदर्शनका लागि हामीले रोक लगाएका छौं ।’
‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवाद भारतमा तीन दिनभित्र सच्चाउन काठमाडौंका मेयर बालेन शाहले बिहीबार सामाजिक सञ्जालमार्फत् अल्टिमेटम दिएका थिए । तर, उक्त संवाद नसच्चाएपछि सोमबारबाट काठमाडौंमा सबै हिन्दी फिल्मको प्रदर्शन रोकिएको छ । पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरलाई अनुशरण गर्दै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको छ ।

