नयाँ छिमलकी सफल अभिनेत्री पूजा शर्मा आफ्नो करिअरमा पहिलो पटक एक्सन फिल्ममा एक्सन भूमिकामा काम गर्ने तयारीमा छिन् । फिल्म ‘दान्भी’मा उनी एक्सन लेडी बन्न लागेकी हुन् । यसै शुक्रबार उनलाई एक्सन अवतारमा प्रस्तुत गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो । दुई हातमा पेस्तोलसहित प्रस्तुत उनको एक्सन लुक्सले फिल्मप्रति दर्शकमा कौतुहलता जगाएको छ ।
यही फिल्मका लागि पूजाले यतिबेला जोडतोडले अन्तरिक तयारी गरिरहेकी छन् । शरीर कसिलो बनाउन लामो समयदेखि जिममा मिहिनेत गरिरहेकी उनले दुई हप्तादेखि एक्सनको तालिम पनि लिइरहेकी छन् । उनले एक्सन ट्रेनिङ लिइरहेको भिडियो इन्स्टा स्टोरीमा सेअर गरेकी छन् । फिल्मको छायांकन सुरु नुहँदासम्म उनी एक्सन तालिमलाई निरन्तरता दिने योजनामा देखिएकी छन् ।
‘दान्भी’सँगै पूजासँग अभिनेत्री रेखा थापाको एक फिल्म पनि छ । बैशाख लगत्तै रेखाको फिल्म सुरु गर्ने तयारीमा उनी थिइन् । तर, स्क्रिप्ट लेखनको काम अझै नसकिएको र हिँउदे वर्षा सुरु भएकाले अब साउनपछि मात्र फिल्म छायांकनमा जान सक्ने देखिन्छ । यसैले रेखाको फिल्मभन्दा अगावै ‘दान्भी’को छायांकन भ्याउने गरी पूजा यतिबेला एक्सनको तालिममा जुटेको जानकारी प्राप्त छ ।
लभर गर्लको रुपमा रुचाइएकी पूजालाई एक्सन भूमिका आफैंमा चुनौतीपूर्ण हो । यसका लागि उनले बाह्य र अन्तरिक दुवै रुपमा चरित्र निर्माणमा मिहिनेत गर्नुपर्नेछ । फिल्ममा उनको जोडीको रुपमा कुन्साङ बोम्जन रहनेछन् । रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । फिल्म बदलाको कथामा निर्माण हुन लागेको संकेत पोस्टरले गरेको छ ।