मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौं र पोखरामा हिन्दी फिल्मको प्रदर्शन रोकियो

फिल्मीखबर, काठमाडौं, 2023/06/19

काठमाडौं र पोखरा महानगरमा सोमबारबाट भारतीय फिल्मको प्रदर्शन रोकिएको छ । शुक्रबारबाट प्रदर्शित फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद सच्चाउन दबाबस्वरुप दुईवटा महानगरले सबै हिन्दी फिल्मको प्रदर्शन रोकेका हुन् । महानगरको आदेशपश्चात् काठमाडौं र पोखराका हल सञ्चालकहरुले ‘आदिपुरुष’सँगै प्रदर्शनरत अर्को हिन्दी फिल्म ‘जरा हटके जरा बचके’लाई पनि उतारेका छन् । यी दुई ठूला शहरबाहेकका सिनेमा हलमा भने भारतीय फिल्म चलिरहेका छन् ।

काठमाडौं महानगर प्रमुख बालेन शाहले गत बिहीबार फेसबुकमार्फत् फिल्मको भ्रमपूर्ण संवाद भारतमा तीन दिनभित्र नसच्चाएको खण्डमा काठमाडौं महानगरभित्रका हलमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए । तर, निर्माण कम्पनीले फिल्मको मूल अंशबाट उक्त संवाद नसच्चाएपछि मेयर शाहले पूर्वचेतावनी अनुसार सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शन रोकेका हुन् ।

 

balen shah and dhanraj acharya


उनले आइतबार फेसबुकमा लेखेका थिए, ‘फिल्मबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (आज)देखि निषेध गरिएको छ ।’ नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको बुँदालाई टेकेर बालेनले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका हुन् ।

मेयर शाहले ‘आदिपुरुष’को संवादलाई लिएर सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेपछि आइतबार फिल्मको निर्माण कम्पनी सुपर कसेट्स इन्डस्ट्रीज लिमिटेडले बालेन र चलचित्र विकास बोर्डलाई पत्र पठाएर फिल्ममा सीता माताको जन्म स्थानको बारेमा कुनै सन्दर्भ उल्लेख नभएको स्पष्टिकरण दिँदै आम नेपालीको भावनामा ठेस पुगेको भए क्षमा समेत मागेको छ ।

मेयर शाहको सिको गर्दै आइतबार पोखरा महानगरपालिकाले ‘आदिपुरुष’को संवाद नसच्चाएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । फिल्ममा समावेश सीतासम्बन्धी संवाद नसच्चिएसम्म सबै भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै पोखराका मेयर धनराज आचार्यले स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाएका थिए ।