भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भारतसँगै नेपालमा पनि विवाद र विरोध चर्किँदै गएको छ । तर, भारत र नेपालमा भैरहेको विरोधको उद्देश्य भने अलग-अलग छ । फिल्ममा समावेश संवादको भाषा निकृष्ट शैलीको भएको भन्दै हिन्दू धर्मावलम्बी तथा हिन्दूवादी संस्थाहरुले भारतमा विरोध जनाइरहँदा नेपालमा भने फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद भ्रमपूर्ण रहेको भन्दै विरोध भैरहेको छ ।
यसबीच, शनिबार साँझ भारतको आजतक टीभीसँगको अन्तर्वार्तामा फिल्मका संवाद लेखक मनोज मुन्ताशिरले नेपालमा भैरहेको विरोधको विषयमा आफ्नो धारणा राख्ने क्रममा कुनै समय नेपाल भारतकै अंश रहेकाले जानकी भारतकै छोरी हुन् भने विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा ‘आदिपुरुष’ बहिष्कार अभियान सुरु भएको छ । फिल्म बहिष्कार गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा हजारौं पोस्ट भएका छन् । र, यसमा नेपाली फिल्मकर्मीहरुले पनि समर्थन जनाएका छन् ।
‘प्रेमगीत’ निर्माता सन्तोष सेनले ‘आदिपुरुष’ लेखकले १९०३ मा नेपाल भारतसँग अलग भएको मूर्ख अभिव्यक्ति दिएको भन्दै फिल्मलाई बहिष्कार गर्न आह्वान गरेका छन् । ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘सबै नेपालीले ‘आदिपुरुष’ बहिष्कार गरौं’ भनेर आग्रह गरेका छन् । निर्देशक खनालको पोस्ट सेअर गर्दै ‘चपली हाइट’ अभिनेता तथा गोदावरी ३ का वडा अध्यक्ष राज घिमिरेले पनि फिल्म बहिष्कार गर्नुपर्ने उल्लेख गरेका छन् ।
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले मनोज मुन्ताशिरको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै उक्त अभिव्यक्ति नसच्चिएसम्म हिन्दी फिल्मलाई बहिष्कार गर्न आह्वान गरेका छन् । त्यस्तै, कलाकार दीपकराज गिरीले फिल्मका संवाद लेखकको अभिव्यक्तिलाई निन्दनीय भन्दै लेखेका छन्, ‘लेखकले आधी ज्ञान लिएर ‘आदिपुरुष’ बनाएछन् । नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ ।’
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भारतीय शासकहरुबाट नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय सम्मानविरुद्ध बारम्बार आक्रमण भइरहेको बताउँदै सरकारले तुरुन्त ‘आदिपुरुष’ र भारतीय फिल्महरुको प्रदर्शन रोकेर भारत सरकारसँग आफ्नो अडान राख्न आग्रह गरेका छन् । कुनै समय नेपाल भारतको अंश थियो भनेर अभिव्यक्ति दिनुले लेखक मनोज मुन्ताशिरको बौद्धिक स्तर शून्य रहेको पुष्टि हुने पनि नवलले उल्लेख गरेका छन् । लेखक मुन्ताशिरको अभिव्यक्तिको अन्य फिल्मकर्मीहरुले पनि निन्दा गरेका छन् ।
लेखक मनोज मुन्ताशिरले अन्तर्वार्तामा भनेका थिए, ‘हामी सीतालाई भारतकी छोरी भनिरहेका छौं भने भारतबाट नेपाल कहाँ अलग थियो र ? नेपाल त सन् १९०३ या १९०४ मा भारतबाट अलग भएको थियो । भारत नै थियो नेपाल । र, यो हिसाबले भारतकै छोरी थिइन् सीता । म नेपाललाई भारतभन्दा अलग मान्दै मान्दिनँ ।’