शुक्रबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सहयोग मागेका छन् । शाहले शुक्रबार मन्त्रालयलाई पत्र काट्दै फिल्मबाट आपत्तिजनक अंश हटाउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।
पत्रमा लेखिएको छ, ‘दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउने सम्बन्धमा यो पत्राचार गरिएको छ । नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
उक्त चलचित्रलाई प्रदर्शन हुन दिए त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी राष्ट्र भारतसँग कुटनीतिक पहल गरेर चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन बालेनले पत्रमार्फत् आग्रह गरेका छन् । त्यस्तै, उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि हिन्दी चलचित्रको प्रदर्शन निषेध गराउन समेत मन्त्रालयसँग अनुरोध गरिएको छ । पत्रको बोधार्थमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र चलचित्र विकास बोर्ड उल्लेख छ ।
मेयर शाहले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै फिल्ममा समावेश ‘जानकी भारतीय छोरी’ भन्ने संवाद तीन दिनभित्र नसच्चाए काठमाडौं महानगरभित्र कुनै हिन्दी फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए । उनको यो कदमलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलेको छ ।