Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘आदिपुरुष’को संवाद सच्चाउन बालेनले दिएको चेतावनीमा फिल्मकर्मीको समर्थन

फिल्मीखबर, काठमाडौं, 2023/06/15

हिन्दू धर्म ग्रन्थ रामायणमा आधारित भएर बनेको भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखिएको भन्दै त्यसलाई भारतमा तीन दिनभित्र नसच्चाए काठमाडौंभित्रका सिनेमा हलमा कुनै हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि नेपाली फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा उनको समर्थन गरेका छन् ।

फिल्ममा समावेश संवाद सच्चाउनु पर्ने भन्दै कलाकार दीपकराज गिरीले बालेनको समर्थनमा लेखेका छन्, ‘सारा हिन्दू जगतले मानेको कुरा सीता नेपालकी छोरी हुन् । त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो । योविरुद्धको आवाज सही हो । सच्चाउनु पर्छ ।’

 

balen shah


कलाकार नवल खड्काले फिल्ममा समावेश संवाद नसच्याएसम्म हिन्दी फिल्म नेपालमा चल्न नदिन सरकारसँग आग्रह गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका उनी लेख्छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म मूल कपीमा या भारतमा पनि सच्चिँदैन तबसम्म नेपालभित्र अरू हिन्दी फिल्म चल्न नदेऊ सरकार ।’

त्यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले ‘आदिपुरुष’मा समावेश संवादप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘यो आशयलाई नेपालको जाँचपास (सेन्सर)ले मात्र सच्याएर अभिव्यक्ति र नियत सच्चिँदैन भन्ने हाम्रो दृढ धारणा छ । विश्वभरी यो आशय जाने हुँदा वितरण भएका सबै प्रति (कपी)मा सच्चिनुपर्छ । यो हाम्रो मात्र आवाज हैन, सम्पूर्ण नेपाली कलाकर्मीको आवाज हो ।’

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले पनि मेयर शाहको एजेन्डामा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् । निर्माता सन्तोष सेन, अभिनेत्री खुश्बु खड्का, अभिनेता प्रेम पुरी, निर्देशकहरु घनश्याम लामिछाने, विशाल भण्डारी, रामशरण पाठक, लेखकहरु सामिप्यराज तिमल्सिना, यम थापा आदिले पनि शाहको चेतावनीपूर्ण स्टाटस सेअर गर्दै समर्थन जनाएका छन् ।