.jpg)
फिल्म व्यावसायिक रुपमा सफल भएपछि त्यसमा काम गर्ने कलाकारको करिअर कायापलट हुन्छ । एकाएक डिमान्डेड बन्छन् । तर, सबैको हकमा यही हुँदैन । फिल्म चलेर पनि गुमनाम भएका धेरै छन् । केहीले भने फिल्म नचल्दा पनि करिअरमा राम्रो उचाइँ हासिल गरेका छन् । यसमा अभिनेत्री जसिता गुरुङ पनि पर्छिन् । लगातार फिल्म ‘फ्लप’ हुँदा पनि उनको करिअर कमजोर छैन ।
‘लिलिबिली’ उनको डेब्यू फिल्म थियो । अभिनेता प्रदीप खड्का उनको अपोजिटमा थिए । तर, त्यो फिल्म खासै गतिलोसँग चलेन । यद्यपि, जसिताको अभिनय र सुन्दरताको प्रशंसा भयो । त्यसबेला उनलाई ‘छक्का पञ्जा’ सिरिजबाट समेत अफर आएको थियो । तर, उनले प्रदीपसँगै दोस्रो फिल्म ‘लभ स्टेशन’ गरिन्, जुन एक टर्किस फिल्मबाट चोरेर बनाइएको थियो । फिल्म डिजास्टर भयो ।
‘लभ स्टेशन’पछि उनले साइन गरेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टि वान’ गत बैशाखमा प्रदर्शन भएको थियो । यो फिल्मका लागि उनले करिब ३ वर्ष डान्स सिक्नलाई मिहिनेत गरेकी थिइन् । पर्दामा उनको मिहिनेत देखियो पनि, तर फिल्मको कथामा देखिएन । अन्ततः घरेलू बजारमा फिल्मले ५० लाख पनि नकमाउँदै हलमा घुँडा टेक्यो । योसँगै जसिताको फ्लप फिल्ममा ह्याट्रिक भएको छ ।
तथापि, उनलाई फिल्मको कमी छैन । अहिले उनीसँग फिल्म ‘फर्की फर्की’ छ । उनलाई हिटको आश भनेकै अब यही फिल्मबाट छ । किनकि, फिल्ममा अभिनेता अनमोल केसी छन्, जो आफ्नो स्टारडमले नै फिल्म चलाउन सक्ने ल्याकत राख्छन् । जसिताले अनमोलकै जोडी बन्ने गरी २ वर्षअघि फिल्म ‘एन्टी हिरो’ पनि सम्झौता गरेकी थिइन् । तर, अब यो फिल्म बन्ने वा नबन्ने टुंगो छैन ।

