
चर्चित गायन टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’को सेमिफाइनलबाट बाहिरिएका गायक रिहान गिरी अब फिल्मको हिरो बन्ने भएका छन् । उनले दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘मायावी’बाट अभिनय करिअरको सुरुवात गर्न लागेका हुन् । फिल्ममा काम गर्ने पक्का भएसँगै यतिबेला रिहानले काठमाडौंमा वर्कसप गरिरहेको विश्वस्त स्रोतको दाबी छ ।
फिल्ममा उनीसँगै दीपिका प्रसाईं र आशिर्वाद क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ । आर्शिवाद र रिहानको फिल्ममा समानान्तर रोल रहेको बताइएको छ । आगामी असारपछि तालनगरी पोखरामा छायांकन हुने फिल्ममा रिहान रोमान्टिक भूमिकामा प्रस्तुत हुनेछन् । भ्वाइसमा सहभागी भएपछि एकाएक चर्चामा आएका उनी भुटानी हुन् । ‘मायावी’कै लागि उनी केही महिनादेखि नेपालमा छन् ।
रिहान करिब डेढ वर्षअघि पहिलो पटक नेपाल आएका थिए । उनी भ्वाइसमा सहभागी हुनका लागि भने नेपाल आएका थिएनन् । निर्देशक नीरक पौडेलले एक फिल्मको विषयमा कुराकानी गर्न उनलाई नेपाल बोलाएका थिए । त्यसै सिलसिलामा उनी भ्वाइसमा सहभागी भए । दीवाकरले भने रिहानलाई करिब २ महिना अगाडि मात्र फिल्म अफर गरेका थिए । र, उनी काम गर्न तयार भए ।
करिब ५ महिना अगाडि एक अन्तर्वार्तामा रिहानले भुटानबाट नेपाल आउनुको कारणबारे भनेका थिए, ‘म भ्वाइस अफ नेपालमा सहभागी हुनकै लागि नेपाल आएको चाहिँ थिइनँ । म घुम्न र एउटा फिल्मको निर्देशकसँग भेट्न आएको थिएँ । म खासमा फिल्म इन्डस्ट्रीमा लाग्न आएको थिएँ तर भ्वाइसतिर लागियो ।’ चकलेटी लुक्सका रिहानको पर्सनालिटी र गायनलाई मन पराउने धेरै छन् ।

