निसन्देह ! अहिलेको समयका सबैभन्दा सफल अभिनेता हुन्, दयाहाङ राई । केही वर्षयताको तथ्यांक हेर्ने हो भने उनको नाममा सफल फिल्मको संख्या धेरै छ । गत वर्ष मात्र उनका ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ फिल्म सफल भए । यस वर्षको सुरुमै फिल्म ‘जारी’ले कमाईमा रेकर्ड बनायो । तर, एउटा तथ्य के विर्सनुहुन्न भने उनका धेरै फिल्मले निर्माता डुबाएका पनि छन् ।
यस वर्षको बैशाख र जेठमा मात्र उनका तीन फिल्म प्रदर्शन भइसकेका छन् । तर, ‘जारी’ मात्र सफल भयो । यो उनको करिअरकै दोस्रो सर्वाधिक कमाई गर्ने फिल्म हो । तर, योसँगै एकसाथ प्रदर्शनमा आएको ‘बिहे पास’ले लगानीको आधा हिस्सा पनि उठाउन सकेन । एउटै मितिमा आएको उनको एउटा फिल्म ‘ब्लकबस्टर’ र अर्को ‘फ्लप’ हुनु दयाहाङकै लागि आत्मसमीक्षाको विषय हो ।
यही जेठ २६ गते प्रदर्शन भएको उनी अभिनीत नयाँ फिल्म ‘नीरफूल’ले पनि ‘डिजास्टर’को संकेत गरिसकेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार फिल्मले ६ दिनमा १९ लाख ४८ हजार ५ सय २९ रुपैयाँ मात्र नेट कमाएको छ । दयाहाङको स्टारडमको तुलनामा यो कमाई हदै दयनीय हो । फिल्म सशक्त नहुनुको कारण पनि व्यापार बलियो हुन नसकेको स्पष्ट देखिन्छ ।
तर, फिल्म सफल होस् वा नहोस्, दयाहाङप्रति मेकर र दर्शकको विश्वास कायम छ । ‘जारी’को सफलतापछि त उनलाई फिल्मका लिनका लागि मेकरहरुबीच हानाथापकै अवस्था छ । यस वर्षका लागि उनी ‘प्याक’ नै भैसकेका छन् । र, यस वर्षको अन्त्यसम्ममा उनका अझै दुई/तीनवटा फिल्म प्रदर्शन हुन सक्नेछन् । जसमध्ये केही आशातित छन् । यतिबेला उनको करिअर उत्कर्षमा छ ।