
‘ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराई नयाँ फिल्मको तयारीमा जुटेका छन् । कोभिडभन्दा अघि घोषणा गरिएको फिल्म ‘तिमीसँगै हुने मन छ’लाई पछि सार्दै उनले ‘मायावी’ नाममा फिल्म बनाउन लागेका हुन् । लभस्टोरी कथामा बन्न लागेको फिल्ममा दीपिका प्रसाईं (भट्टराई) र आशिर्वाद क्षेत्रीको जोडी बाँधिने निश्चित भएको छ । आशिर्वादले फिल्म ‘नाईं नभन्नू ल ६’बाट डेब्यू गरेका थिए ।
आगामी असारपछि छायांकनमा जाने फिल्मको पटकथा निर्देशक भट्टराई स्वयंको हो । सम्पूर्ण छायांकन पोखरामा हुने फिल्मका लागि दीपिका र आशिर्वादबाहेक अरु कलाकार छनोट भएका छैनन् । अहिले दुवैजनाले वर्कसप गरिरहेका छन् । फिल्मको बजेट २ करोड अनुमान गरिएको छ । फिल्ममा दीपिका र आशिर्वाद दुवै रोमान्टिक भूमिकामा प्रस्तुत हुने दीवाकरले जानकारी दिए ।
निर्देशक भट्टराईले ‘नाईं नभन्नू ल ६’मा काम हेरेपछि आशिर्वादलाई फिल्ममा अनुबन्ध गरेका हुन् । उनले भने, ‘उहाँसँग कुराकानी चाहिँ भैरहेको थियो । सम्झौता फिल्म हेरिसकेपछि नै भएको हो । मैले लभस्टोरी फिल्म बनाउने भएकाले उहाँमा हरेक हिसाबबाट सम्भावना देखेँ । उहाँ पनि काम गर्नलाई इच्छुक भएपछि सहकार्य जुर्यो ।’ फिल्मको पात्रमा आशिर्वाद सुहाउने उनको भनाई छ ।
‘तिमीसँगै हुने मन छ’ भने अर्को वर्ष निर्माणको योजनामा दीवाकर छन् । यो फिल्मका लागि भारतका रोहित सुचान्तीलाई सम्झौता गरिएको छ । उनको व्यस्तताले तत्काललाई फिल्म पोस्टपोन्ड गरिएको दीवाकरले बताए । यो फिल्ममा दीपिकाको पनि अभिनय रहनेछ । ‘मायावी’ लगत्तै दीवाकर अर्को फिल्मको तयारीमा छन् । उनले अघिल्लो वर्ष फिल्म ‘हनी बनी’को छायांकन गरेका थिए ।

