Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अनमोलले पूजाका कारण नकारेका थिए ‘प्रेमगीत’ ?

फिल्मीखबर, काठमाडौं, 2023/06/14

सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘प्रेमगीत’ले दुईजना कलाकारको करिअरको रुपरेखा नै बदल्यो । उनीहरु हुन्, प्रदीप खड्का र पूजा शर्मा । यो उनीहरु दुवैको पहिलो फिल्म भने थिएन । यसअघि केही फिल्ममा काम गरिसकेको भए पनि दुवै सफलताबाट विमुख थिए । ‘प्रेमगीत’ले भने दुवैलाई करिअरको उचाइँमा पुर्‍यायो । यतिबेला उनीहरु नेपाली फिल्मका ‘लिडिङ’ कलाकार हुन् ।

तर, ‘प्रेमगीत’का लागि प्रदीप पहिलो रोजाईमा थिएनन् । थिए त, अभिनेता अनमोल केसी । तर, उनले फिल्म गर्ने इच्छा देखाएनन् । र, अडिसनबाट प्रदीपलाई छनोट गरिएको थियो, जो अहिले अनमोलको टक्करका प्रतिस्पर्धी हुन् । पूजा भने फिल्ममा सबैभन्दा अगाडि छनोट भैसकेकी थिइन् । उनकै कारण अनमोलले फिल्म गर्न अस्वीकार गरेको कुरा त्यसबेला नै गाइँगुइँ सुनिएको थियो ।

यसै साता अभिनेत्री निशा अधिकारीको पोडकास्टमा पूजाले यो कुरामा लालमोहर लगाएकी छन् । यद्यपि, उनले नाम भने उच्चारण गरेकी छैनन् । उनले भनेकी छन्, ‘अर्को कलाकारले ‘प्रेमगीत’मा काम गर्ने कुरा थियो । त्यो एक्टरले म भएकाले नखेल्ने भन्ने कुरा सन्तोष सेन दाईले मलाई भन्नुभयो । मलाई निकै चित्त दुखेको थियो । त्यो फिल्मको हरेक सटपछि म पर्खाल पछाडि गएर रुन्थेँ ।’

 

सम्झना विर्सना'मा काम गरेर पछुताएकी पूजा !


त्यही बेला पूजाले इख लिएकी रहेछिन्, ‘यो मान्छेको अघि म केही गरेर र बनेर देखाउँछु ।’ आज आफूले यो स्थान हासिल गर्नुमा उनी ती व्यक्तिलाई नै श्रेय दिन्छिन् । र, उनले ती व्यक्तिलाई धेरै पटक सामुन्नेमै भनिसकेकी छन् रे, ‘तपाईंले रिजेक्ट गरेकै कारण म आज यहाँ छु ।’ पोडकास्टमा उनले जिमखानाको ट्रेडमिलमा कुद्दा समेत आफूले त्यो व्यक्तिलाई सम्झिने गरेको बताएकी छन् ।

पूजाले ‘ती व्यक्ति’ भनेर अनमोललाई इंकित गरेको हो भन्ने कुरा तब बुझिन्छ, जब पोडकास्टमा निशाले ‘अहिले एक फिल्ममा सँगै काम गर्न लागेको होइन ?’ भनेर सोध्छिन् । अनि पूजाले ‘आँ गर्दा अलङ्कार’ बुझ्ने भाषामा बेलिविस्तार लगाउँछिन् । अघिल्लो वर्ष आफ्नो एक फिल्ममा अनमोललाई उनले साइन गराएकी थिइन् । तर, विभिन्न कारणले यो फिल्म अब नबन्ने अवस्थामा पुगेको छ ।

उनले अनमोलसँगको फिल्मको बारेमा भनेकी छन्, ‘सम्झौता भैसकेको थियो । तर, कति कुराहरु जे हुन्छ राम्रोकै लागि हुने रैछ । मलाई अहिलेसम्म भगवानले एकदमै जोगाउनुभएको छ । मेरो लागि ड्रिम प्रोजेक्ट थियो । ३/४ सिरिज जानेवाला थियो । त्योभन्दा अगाडि मैले पाथिभरा मन्दिरमा फिल्मको प्राथना गर्दै क्ल्याप पूजा गरेँ । त्यहाँबाट आएको केही दिनपछि टिम नै छिन्नभिन्न भयो ।’

उनले त्यो फिल्ममा आफ्नो ३५ लाख गैसकेको बताएकी छन् । यद्यपि, उनलाई कुनै गुनासो छैन । बरु अरु पैसा गुम्नबाट बचेकोमा उनी खुसी छिन् । ‘मलाई पछि धेरैले यो फिल्म नहुनु नै तिम्रो लागि राम्रो हो भनेर सम्झाउनुभयो । अनि मलाई पनि लाग्यो कि यो भगवानले नै जुराउनु भएको रहेछ । सबैथोक विग्रनु नै नहुनलाई रहेछ । अहिले म त्यो प्रोजेक्ट नभएकोमा खुसी छु,’ उनले भनिन् ।