हरेक कलाकारको आ-आफ्नो ‘कम्फर्ट जोन’ हुन्छ । कसैको लभस्टोरीमा त कसैको एक्सनमा । तर, ‘कम्फर्ट जोन’मा नयाँ चिज र नयाँ प्रयोग हुँदैन । हुन्छ त, एकैखालको भूमिका अनि एउटै शैलीको अभिनय । जसले गर्दा कलाकारले आफैंलाई चिन्न पाउँदैनन् । यसअर्थ ‘कम्फर्ट जोन’ हानिकार हो । यसबाट बाहिर निस्किएर पनि काम गर्न सक्नुपर्छ । जसरी अभिनेता सोनम तोप्देनले गरे ।
गायनमा प्रसिद्धि कमाइसकेका उनले गत वर्ष प्रदर्शन भएको फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । फिल्म व्यावसायिक रुपमा सफल त हुन सकेन तर उनले अभिनयमा राम्रो सम्भावना देखाए । रोमान्टिक भूमिकामा उनी जम्न सक्ने विश्लेषण गरिएको थियो । तर, दोस्रो फिल्ममा नै उनले आफ्नो ‘कम्फर्ट जोन’ छाडेका छन् । र, ठूलो चुनौती मोलेका छन् ।

सोनमको दोस्रो फिल्म ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) हो, जसलाई ‘कालो पोथी’ निर्देशक मीन भामले निर्देशन गरेका हुन् । यो फिल्मका लागि उनले आफ्नो रुपरंग नै फेरेका छन् । कपाल लामो बनाएका छन् भने जुँगा पनि पालेका छन् । उनको अनुहारको कलर टोन पनि फेरिएको छ । प्राप्त जानकारी अनुसार, फिल्ममा उनले डोल्पाको स्थानीय युवकको भूमिका निर्वाह गरेका छन् ।
सोनमले सोमबार इन्स्टाग्राम स्टोरीमा आफ्नो क्यारेक्टर लुक्स सेअर गर्दै ‘आइ चुज डिसकम्फर्ट’ भनेर उल्लेख गरेका छन् । आफू ‘डिसकम्फर्ट जोन’मा काम गर्न रुचाउने आशय उनको हुनसक्छन् । हुन पनि रोमान्टिक भूमिकामा राम्रो सम्भावना हुँदाहुँदै उनले ‘चिसो वर्ष’मा फरक भूमिका गरेर चुनौती मोलेका छन् । यो फिल्ममा उनी विभिन्न चरणको अडिसनपछि मात्र छनोट भएका हुन् ।

