Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नीरफूल’ले भीम रावललाई सम्झायो नक्कली शरणार्थी प्रकरण

फिल्मीखबर, काठमाडौं, 2023/06/13

यही शुक्रबारबाट प्रदर्शनमा आएको फूलमान वलद्वारा निर्देशित फिल्म ‘नीरफूल’ले नेकपा एमालेका नेता भीम रावललाई नक्कली शरणार्थी प्रकरणको घटनाक्रम सम्झाएको छ । सोमबार काठमाडौंको वान् सिनेमाजमा आयोजित विशेष शोमा उनले फिल्मको कथा भूकम्पले सिर्जित परिस्थितिमा आधारित भएपनि अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि ताजा गराएको बताए ।

 

bhim rawal


रावलले भने, ‘फिल्मले एकैचोटीमा धेरै सन्देश दिएको छ । वैदेशिक रोजगारीको नाममा हाम्रो समाज र परिवार कसरी तहसनहस हुँदैछ भन्ने सन्देश फिल्मले दिन्छ । भूकम्पको समयमा जनतालाई सेवा गर्नुपर्ने निकायहरुले कसरी गलत तरिकाले फाइदा उठाउन खोजेका थिए भन्ने कुरालाई यो फिल्मले अगाडि ल्याएको छ । फिल्म हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरण सम्झना भयो ।’

अभिनेत्री करिश्मा मानन्धर ‘नीरफूल’लाई अर्गानिक फिल्मको संज्ञा दिन्छिन् । ‘फिल्मको कथा अर्गानिक छ । भूकम्पको पीडा झन्डै हामीले विर्सिसकेका थियौं । यो फिल्मले ती दिन स्मरण गरायो । भूकम्पपछि दुर्गम क्षेत्रमा कस्तो परिस्थिति थियो भन्ने कुरा फिल्मले देखाएको छ । हाम्रो देशको भौगोलिक परिस्थिति र संस्कृतिलाई प्रस्तुत गरिएको छ । समग्रमा फिल्म राम्रो लाग्यो,’ उनले भनिन् ।

 

karishma manandhar


पत्रकार तथा निर्माता ऋषि धमलाले फिल्म हेर्दा आफू भावविह्वल भएको बताए । भूकम्पको बेला नेपालीले भोगेको पीडा फिल्ममा निर्देशकले एकदमै राम्रो तरिकाले उतारेको उल्लेख गर्दै उनले कलाकारहरुको अभिनयको पनि मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, ‘फिल्ममा वास्तविकता छ । यसमा कुनै किसिमको बनावट छैन । फिल्म हेर्दा म भावविह्वल भएको थिएँ । फिल्म राम्रो छ ।’

गायिका सुनिता दुलालले फिल्म पूर्ण प्याकेजको रहेको बताउँदै कलाकारहरुको अभिनय एकदमै राम्रो लागेको बताइन् । कलाकार पल्पसा डंगोलले फिल्म राम्रो रहेको र कथाले मन छोएको प्रतिक्रिया दिइन् । अभिनेता गजित विष्टले फिल्ममा निकै सूक्ष्म तरिकाले काम गरिएको बताए । निर्देशक दिनेश डिसीले फिल्ममा भूकम्पको समयको यथार्थ चित्रण गरेकोमा निर्देशक वलको प्रशंसा गरे ।

 

gajit bista and dinesh dc


भूकम्पका कारण एउटा परिवार छिन्नभिन्न भएको कथा फिल्मले प्रस्तुत भएको छ । त्यसबेला राज्यका अंगहरु कसरी गैरजिम्मेवार भएका थिए भन्ने कुरा पनि फिल्मले देखाएको छ । फिल्ममा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जिम्मे छ्योइकी घिसिङको अभिनय रहेको छ । फिल्ममा निर्देशक वल स्वयंको लेखन छ ।