मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा ‘परस्त्री’को हिन्दी डब पनि लाग्ने, नेपाली फिल्मसरह सुविधा लिने प्रयास

फिल्मीखबर, काठमाडौं, 2023/06/12

parastree

 

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गतेबाट नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । निर्मात्री शर्मिला पाण्डेका अनुसार, फिल्म भारतका ७ सयभन्दा बढी स्क्रिनमा रिलिज हुने निश्चित भैसकेको छ । नेपालका हलमा फिल्मको हिन्दी डब पनि रिलिज गरिने भएको छ । त्यसका लागि अहिले निर्माण टिम कागजपत्र मिलाउन दौडधुप गरिरहेको छ ।

सोमबार निर्मात्री शर्मिला पाण्डे, निर्देशक सुरज पाण्डे, लेखक दीपेन्द्र के. खनाल र वितरक करण श्रेष्ठले हिन्दी भर्सनलाई नेपालमा रिलिज गर्ने विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग छलफल गरेका थिए । निर्माण टिमले ‘प्रेम गीत ३’लाई जस्तै ‘परस्त्री’को हिन्दी भर्सनलाई पनि नेपाली फिल्मसरह प्रदर्शन गर्न दिनुपर्ने माग राखेको छ । तर, बोर्डले कुनै निर्णय दिएको छैन ।

विदेशी फिल्मसरह प्रदर्शन अनुमति पाउँदा १५ प्रतिशत विकास शुल्क तिर्नुपर्छ । गत वर्ष सञ्चार मन्त्रालयको ठाडो आदेशमा ‘प्रेम गीत ३’को हिन्दी डबको विकास शुल्क मिनाहा भएको थियो । त्यही नजिरमा टेकेर अहिले ‘परस्त्री’ टिमले हिन्दी भर्सनलाई नेपाली फिल्मसरह प्रदर्शनको अधिकार मागेको हो । यो फिल्मको विषयमा बोर्ड आफैंले निर्णय गर्छ वा मन्त्रालयले ? त्यो हेर्न बाँकी छ ।

नेपाली र हिन्दी दुवै भाषाको ट्रेलर सार्वजनिक भैसकेको फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, एलिसा क्षेत्री, गौरव बिष्ट, गीत विष्ट, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेको अभिनय छ । फिल्मलाई भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । विवाहेत्तर सम्बन्धले निम्त्याएको पारिवारिक संकटमा आधारित फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन् ।