Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

भारतीय सिरियल ‘स्वराज’मा नेपालकी तेरिया

फिल्मीखबर, काठमाडौं, 2023/06/11

teriya magar

 

भारतको दुईवटा चर्चित रियालिटी शो ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’को उपाधि जितेर ठूलो चर्चा कमाएकी नेपालकी तेरिया फौजा मगरले अब अभिनय करिअर सुरु गरेकी छन् । केही नेपाली फिल्ममा अभिनयको प्रस्ताव अस्वीकार गरेकी उनले भारतको सरकारी टेलिभिजन दूरदर्शनको प्रस्तुती रहेको ‘स्वराज’ नामक सिरियलमा विशेष भूमिकामा अभिनय गरेकी छन् ।

तेरियाले आइतबार आफ्नो इन्स्टाग्राममा आज प्रशारण हुने सिरियलको प्रोमो सेअर गरेकी छन्, जसमा उनलाई लडाकु अवतारमा देख्न सकिन्छ । सिरियलमा आफू रानी गाइदिन्ल्यूको भूमिकामा रहेको तेरियाले जानकारी गराएकी छन् । रानी गाइदिन्ल्यू ती हुन्, जसले भारतको स्वतन्त्रताका लागि ब्रिटिस शासनको विरुद्धमा विद्रोह गरेकी थिइन् । उनको भूमिका तेरियाले निर्वाह गरेकी हुन् ।

तेरियाले प्रोमो सेअर गर्दै लेखेकी छन्, ‘यस्तो वीर चरित्र खेल्नु मेरो लागि उल्लेखनीय क्षण थियो । धेरै कुरा सिक्नु पाएँ र सुटिङमा राम्रो समय वित्यो ।’ प्रोमोमा उनलाई पर्याप्त स्थान दिइएको छ । उनले इन्स्टामा सिरियल छायांकन बेलाका केही तस्विरहरु पनि सेअर गरेकी छन्, जसमा उनी रोंगमेई पहिरनमा देखिएकी छन् । एउटा तस्विरमा उनलाई वाण बोकेको अवस्थामा देख्न सकिन्छ ।

सिरियलमा तेरियाले अभिनय गरेको अंश आइतबार साँझ ९ बजे दूरदर्शन टेलिभिजनमा प्रशारण हुनेछ । उनी सिरियललाई लिएर निकै उत्साहित देखिएकी छन् । भारतमा ब्रिटिसले शासन गरेको समयको कथामा सिरियल आधारित छ । नृत्यसँगै अभिनयमा पनि रुचि भएकी तेरिया लामो समयदेखि भारतमा बसेर आफ्नो करिअरलाई अगाडि बढाइरहेकी छन् । उनको नेपाल घर रुपन्देही हो ।