अनिता पण्डितद्वारा निर्देशित फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । ‘मेरो विश्वास’ बोलको रोमान्टिक भावको गीतमा प्रविशा अधिकारीको स्वर, एलिस कार्कीको संगीत तथा पवित्रा घिमिरेको शब्द रचना रहेको छ । फिल्मका मुख्य अभिनेत्रीद्वय सुरविना कार्की र अनिता पण्डित प्रस्तुत गीतमा ट्रान्सजेन्डर महिलाबीचको प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।
एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको फिल्ममा निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको पनि अभिनय छ । अनिल कटुवालको छायांकन रहेको फिल्मको निर्माता विशाल घिमिरे र अनिता पण्डित हुन् ।
सार्वजनिक गीतले फिल्मको अर्को कथा देखाउने निर्देशक पण्डित बताउँछिन् । उनी भन्छिन्, ‘प्राकृतिक रुपमा फरक महशुस गर्ने महिलाहरुको कथा फिल्ममा छ । यसमा बच्चाको अटिजम समस्यासँगै आफ्नो रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा छ ।’ फिल्ममा उनी स्वयंको लेखन छ । आश्वि फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

