आगामी असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार भारतीय युट्युब च्यानल बीफोरयू म्यूजिकबाट सार्वजनिक ट्रेलरमा विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर्स)ले निम्त्याएको पारिवारिक विग्रह र संकटको कथा प्रस्तुत छ । बिहीबार फिल्मको नेपाली भर्सनको ट्रेलर सार्वजनिक गरिएको थियो ।
नेपाली ट्रेलरलाई सकारात्मक प्रतिक्रिया मिलेको छ । खासगरी अभिनेत्री शिल्पा मास्केको बोल्ड सिनलाई लिएर चर्चा भैरहेको छ । हिन्दी डब ट्रेलरले पनि भारतीय दर्शकमा फिल्मप्रति कौतुहलता जगाउने विश्वास निर्माण टिमको छ । हिन्दी डबको क्रममा भारतीय वितरकहरुले मुकेश भट्ट (बलिउड निर्देशक) फ्लेवरको फिल्म बनेको भन्दै प्रशंसा गरेको निर्मात्री शर्मिला पाण्डेले बताएकी छन् ।
सुरज पाण्डेद्वारा निर्देशित फिल्मलाई सफल निर्देशक दीपेन्द्र के. खनालले लेखेका हुन् । फिल्ममा शिल्पाका अलावा कोशिश क्षेत्री, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेको पनि अभिनय छ । डिएस डिजिटलको ब्यानरमा निर्मित फिल्मलाई भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । निरज कँडेल फिल्मका छायाँकार हुन् ।

