
दीपल वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’ स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा प्रदीप खड्का, नीति शाह, वर्षा सिवाकोटी, राजबल्लभ कोइराला मुख्य भूमिकामा देखिँदैछन् । सौगात मल्ल पनि फिल्ममा अनुबन्ध छन् । तर, उनको अर्को फिल्मसँग सेड्युल जुध्ने भएपछि ‘कामिनो’मा नहुने सम्भावना प्रवल छ । यद्यपि, उनको सेड्युल मिलाउने प्रयासमा निर्माण टिम छ ।
प्रि-प्रोडक्सनमा लामो समय लागेको यो फिल्मको आगामी असारको मध्यबाट छायांकन सुरु हुँदैछ । जंगल तथा समुन्द्री क्षेत्र चाहिने भएकाले फिल्मलाई नेपालसँगै मेक्सिको र ब्राजिलमा छायांकन गर्ने तयारी गरिएको थियो । तर, अब नेपाल र फिलिपिन्समा मात्र छायांकन हुने भएको छ । भिसाको समस्याले गर्दा मेक्सिको र ब्राजिलको ‘च्याप्टर क्लोज’ गरिएको निर्देशक वलीले जानकारी दिए ।
‘लोकेशन हन्टिङका लागि मसहित निर्माता र प्रोडक्सन डिजाइनर मेक्सिको जाने तयारीमा थियौं । तर, भिसा आएन । प्रदीपजीको भने भिसा एप्लाई नै गरेका थिएनौं,’ उनले भने, ‘भिसाका लागि फेरि समय खर्चिनुभन्दा त्यसको विकल्प खोजेका हौं । नेपालमा र फिलिपिन्समा छायांकन गरेर पनि मेक्सिको र ब्राजिलको महसुस गराउने छौं । कथालाई कुनै फरक नपर्ने गरी छायांकन गर्नेछौं ।’
केही हप्ता अगाडि निर्देशक वली, अभिनेता खड्का र निर्माता सुनिल विष्ट गौली लोकेशन हन्टिङका लागि फिलिपिन्स पुगेका थिए । जंगल र समुन्द्री टापुको छायांकन फिलिपिन्समा हुने बताइएको छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा फिल्मको निर्माण हुनेछ ।

