Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

दीपकराज समुह र हेमराजबीच फेरि हुँदैछ सहकार्य ?

फिल्मीखबर, काठमाडौं, 2023/06/09

deepak-deepa and hemraj

 

बक्स अफिसको हिट मेशिन मानिने दीपकराज गिरी समुहले बाहिरी निर्माता तथा निर्देशकसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ । पहिलो पटक यो समुहले मुनाफाको हिस्सेदारीमा बाहिरी ब्यानरको फिल्म ‘छ माया छपक्कै’मा काम गरेको थियो । यही शैलीमा एकपटक फेरि दीपकराज समुहले एउटा बाहिरी टिमसँग सहकार्य गरेर फिल्म निर्माणको गृहकार्य गरिरहेको जानकारी प्राप्त छ ।

निर्माता सरोज न्यौपानेसँग दीपकराज समुहको सहकार्य हुन लागेको विश्वस्त स्रोतको दाबी छ । र, उक्त फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने बताइएको छ । निर्देशक विसीले स्वयंले दीपकराज गिरीसँग फिल्मको विषयमा छलफल भैरहेको स्वीकार गरे । तर, सहकार्यको टुंगो नलागिसकेको उनको भनाई छ । हेमराजले यसअघि दीपकराज समुहको ‘छक्का पञ्जा ४’ निर्देशन गरेका थिए ।

दीपकराजलाई हेमराजले सुनाएको फिल्मको ‘कन्सेप्ट’ मन परेको छ । अहिले दीपकराज त्यसलाई स्क्रिप्टको रुप दिन व्यस्त रहेको स्रोत बताउँछ । ‘स्क्रिप्ट लक’ भएपश्चात् औपचारिक रुपमा सम्झौता गर्ने योजनामा दुवै पक्ष छ । यस वर्ष दीपकराज समुहसँगको फिल्मलाई अगाडि बढाउन निर्देशक विसी र निर्माता न्यौपानेले फिल्म ‘जेरी: अन टप’को निर्माण अर्को वर्षलाई सारेको बताइन्छ ।

दीपकराज समुहको यस वर्ष ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारीसँग पनि सहकार्य हुने सम्भावना बलियो छ । रोहितको फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् भने विकास सुवेदीले स्क्रिप्ट लेखिरहेका छन् । दीपकराजले ‘आइडिया’ मन पराएपछि अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । दीपकराज समुह मुनाफाको हिस्सेदारीमा बाहिरी ब्यानरको फिल्ममा आबद्ध हुने गर्छ ।