शिष्ट तथा भलाद्मी अभिनेत्रीको छवि बनाएकी शिल्पा मास्केले बिहीबार सार्वजनिक फिल्म ‘परस्त्री’को ट्रेलरमा ‘सरप्राइज’ दिइन् । हुन त यसअघि सार्वजनिक पोस्टरले नै त्यसको संकेत गरेको थियो । ट्रेलरमा उनको केही ‘बोल्ड सिन’ समावेश छन्, जुन उनका लागि नयाँ प्रयोग हो । ट्रेलर हेर्दा फिल्मले उनको छवि बदल्न सक्ने लक्षण देखाउँछ । यो उनका लागि अवसर र चुनौती दुवै हो ।
ट्रेलर रिलिजपछि उनको ‘बोल्ड सिन’लाई लिएर विभिन्न टिका-टिप्पणी हुन थालेको छ । त्यसो त फिल्म साइन गर्दा नै उनी यसका लागि मानसिक रुपमा तयार भैसकेकी रहेछिन् । उनले पत्रकारसँगको कुराकानीमा भनिन्, ‘ट्रेलरलाई लिएर आउने प्रतिक्रियाका लागि पनि म तयार छु । फिल्म साइन गर्दा नै पछि आउने सबैखाले प्रतिक्रियाका लागि म मानसिक रुपमा तयार भैसकेको थिएँ ।’
स्क्रिप्ट पढ्दाखेरि उनलाई ‘बोल्ड’ भूमिका गर्न सकिन्छ कि सकिन्न भन्ने लागेको रहेछ । ‘स्क्रिप्ट पढेपछि गर्न सक्छु कि सक्दिनँ भन्ने भएको थियो । नर्मल स्क्रिप्टमा पनि यो कसरी गर्ने, क्यारेक्टर कसरी बनाउने, यो सिन कति सान्दर्भिक छ भन्ने हुन्छ,’ उनी भन्छिन्, ‘मैले धेरै सोचेर र मानसिक रुपमा तयार भएरै फिल्ममा काम गरेको हुँ । पहिलो पटक स्क्रिप्ट पढ्दा ‘नर्भसनेस’ त भएको थियो ।’
आफूलाई फरक तथा चुनौतीपूर्ण भूमिका गर्न इच्छा लाग्ने गरेको बताउँदै शिल्पाले ‘परस्त्री’को कथा र क्यारेक्टर आफूले अहिलेसम्म गरेकोभन्दा एकदमै फरक रहेकाले पनि काम गरेको बताइन् । पोस्टर रिलिज हुँदा ‘नर्भस’ भएको उनी ९० प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि भने उत्साहित भएकी रहेछिन् । पोस्टरलाई महिलाहरुले बढी ‘सपोर्ट’ गरेकोमा उनी खुसी व्यक्त गर्छिन् ।

