नेपालमा फिल्मको प्रिमियर प्रशंसा सुन्नका लागि आयोजना गरिन्छ । र, नेपाली फिल्मकर्मीहरु पनि यति इमानदार छन् कि हलबाट निदाएर उठेको भए पनि मिडियाको अगाडि प्रशंसाको पूल बाँध्छन् । त्यही प्रशंसा सुनेर निर्मातादेखि कलाकारसम्मको खुट्टा भूँइमा हुँदैन । जब फिल्म प्रदर्शन हुन्छ तब उनीहरुले यथार्थ थाहा पाउँछन् । प्रायः फिल्मको प्रिमियरमा झुट बोल्ने प्रतिस्पर्धा नै चल्छ ।
बुधबार काठमाडौंमा भएको फिल्म ‘नीरफूल’को प्रिमियरमा त झुट नै सही, प्रशंसा गरिदिने फिल्मकर्मी समेत भएनन् । सुपरस्टार दयाहाङ राईको फिल्मको प्रिमियरमा फिल्मकर्मीहरुको शून्य बराबर उपस्थिति सम्भवतः पहिलो पटक हो । फिल्मका कलाकार र अभिनेत्री लुनिभा तुलाधरबाहेक अरु कलाकार खासै थिएनन् । निर्माता तथा निर्देशक पनि एउटै हातको औंलामा गन्न सकिने थिए ।
प्रिमियरपछि प्रतिक्रिया बुझ्नका लागि मिडियाको ठूलो जत्था हलको एउटा कुनामा पर्खिरहेको हुन्छ । तर, ‘नीरफूल’को प्रिमियरमा फिल्मकर्मीहरुको उपस्थिति नहुँदा मिडियाकर्मीले फिल्मकै कलाकार र निर्देशकको प्रतिक्रियामा चित्त बुझाउनु पर्यो । जसले गर्दा मिडियामा प्रिमियरको होहल्ला नै हुन सकेन । नेपाली फिल्मको प्रिमियरमा फिल्मकर्मीहरुको यो हदसम्मको हाहाकार कमै हुन्छ ।
त्यसो त दयाहाङ पनि आफ्नो समुहभन्दा बाहेकको फिल्मको प्रिमियरमा अपवाद मात्र पुग्छन् । त्यसैले उनको फिल्मको प्रिमियर पनि फिल्मकर्मीहरुको एउटा समुहले ‘अघोषित बहिष्कार’ गर्न थालेको छ । हुन पनि एकोहोरो रोटी त पाक्दैन । सहयोग भनेको दुईतर्फी नै हुनुपर्छ । फिल्मको प्रिमियर फिल्मकर्मीहरुको जमघटले विशेष बन्ने हो । तर, ‘नीरफूल’को प्रिमियर विशेष बन्न सकेन ।
मल्टीप्लेक्समा ‘नीरफूल’लाई न्यून शो
एउटै कलाकारको फिल्मको शो बाँडफाँडमा कति ठूलो अन्तर हुन्छ भन्ने कुरा ‘नीरफूल’लाई हेर्दा बुझिन्छ । गत बैशाखमा प्रदर्शन भएको दयाहाङ स्टारर फिल्म ‘जारी’ले देशभरका मल्टीप्लेक्सहरुमा उल्लेख्य शो पाएको थियो भने रिलिजपूर्व आक्रामक बुकिङ भएको थियो । तर, उनै दयाहाङको ‘नीरफूल’लाई भने मल्टीप्लेक्सहरुले खासै पत्याएका छैनन् । फिल्मलाई न्यून शो दिइएको छ ।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा फिल्मले शुक्रबारका लागि १६ शो मात्र पाएको छ । जबकि, यही चेनमा दयाहाङको ‘जारी’ले पहिलो दिन मात्रै ७० भन्दा बढी शो पाएको थियो । त्यस्तै, काठमाडौंमा फिल्मले वान सिनेमाज् चेनमा ४ शो, बिग मुभिज र रञ्जना सिनेप्लेक्समा समान ३/३ शो, एफक्यूबमा २ शो, आइएनआइ सिनेमाज् चेनमा ६ शो, क्यूज सिनेमाजमा २ शो पाएको छ ।
न्यून शो र बुकिङ निकै कमजोर रहेकाले ‘नीरफूल’लाई अब बलियो ‘वर्ड अफ माउथ’ले मात्र उठाउन सक्नेछ । भूकम्प गएपश्चात् धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीलाई खोज्न एक दम्पतीले गर्ने संघर्षको कथामा फिल्म बनेको छ । फूलमान वल निर्देशित फिल्ममा दयाहाङसँगै शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा आदिको अभिनय छ ।

