फिल्म ‘चपली हाइट’पछि यौन मनोविज्ञानमा आधारित भएर फिल्म निर्माणको ट्रेन्ड नै सुरु भएको थियो । केही वर्षयता भने कमेडी र लभस्टोरीको बाढीले त्यसमा केही कमी आएको छ । तर, ‘चपली हाइट’कै निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘परस्त्री’मार्फत् फेरि एकपटक यौन मनोविज्ञानको कथालाई प्रस्तुत गरेका छन् । बिहीबार सार्वजनिक ट्रेलरमा यौन, अपराध र धोका केन्द्रमा छ ।
अभिनेत्री शिल्पा मास्के रेडियोमा कार्यक्रम चलाउँछिन् । उनलाई श्रीमान् कोशिश क्षेत्रीले सधैं शंका गर्छन् । एक दिन जिमखानामा उनको भेट गौरव विष्टसँग हुन्छ । विस्तारै उनीहरु एकअर्कासँग नजिक हुन्छन् र शारीरिक सम्बन्ध स्थापित हुन्छ । उता कोशिशको पनि परस्त्रीसँग अनैतिक सम्बन्ध छ । अनैतिक सम्बन्धका कारण सिर्जित हिंसात्मक घटनालाई ट्रेलरमा प्रस्तुत गर्न खोजिएको छ ।
ट्रेलरमा शिल्पाका केही ‘बोल्ड सिन’ छन्, जसले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ । ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्ममा निर्वाह गरेको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको बताइन् । ‘म फरक भूमिका निर्वाह गर्न रुचाउँछु । तर, यो फिल्मको भूमिका एकदमै चुनौतीपूर्ण थियो । स्क्रिप्ट पढेपछि काम गर्न सक्छु र भन्ने समेत लागेको थियो । यद्यपि, प्रयास गरेको छु,’ शिल्पा सुनिइन् ।
आगामी असार १५ गतेदेखि नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनकी आमा शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । दीपेन्द्रको लेखन रहेको फिल्ममा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ । फिल्मका छायाँकार निरज पाण्डे हुन् ।