फिल्म लेखनमा महिलाहरुको उपस्थिति ज्यादै न्यून छ । मधेशी समुदायका महिलाहरुको उपस्थिति त झन् करिब शून्य बराबर छ । यसैलाई मध्यनजर गर्दै मधेश प्रदेशका महिलाहरुलाई फिल्म लेखनमा आकर्षित गर्नका लागि काठमाडौंमा ‘टेल योर स्टोरी-मधेश च्याप्टर’ कार्यशाला भैरहेको छ । बुधबार पहिलो चरणको कार्यशाला सम्पन्न गर्दै दोस्रो चरणको सप्ताह कार्यक्रम सुरु गरिएको छ ।
दुई चरणमा भैरहेको कार्यशालाको पहिलो चरण जेठ १६ देखि जेठ २० सम्म भएको थियो, जसअन्तर्गत ५ दिनको भर्चुअल कक्षामा निवेदनमार्फत् छानिएका १७ प्रशिक्षार्थी सहभागी भएका थिए । त्यसमध्ये ९ जना प्रशिक्षार्थीलाई मात्र दोस्रो चरणको कार्यशालाका लागि छानिएको छ । जेठ २४ देखि सुरु भएको दोस्रो चरणको कार्यशाला जेठ २९ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।
मधेशका महिलाका जीवन र अनुभव, सहास र अठोटका कथा प्रायः ओझेलमा पर्दै आएको र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाएकाले पटकथा लेखनको आधारभूत ज्ञानमार्फत् तिनै अनुभवलाई मधेशकै सम्भावना बोकेका महिला कथाकारहरुको आवाजमा फिल्मको पटकथाको रुप दिनु नै कार्यशालाको उद्देश्य रहेको आयोजक संस्था शिक्षा फाउन्डेसन नेपालले जानकारी गराएको छ ।
फिल्म इन्डिपेन्डेन्ट अन्तर्गतको ग्लोबल मिडिया मेकर्सको सहयोगमा नेपालस्थित अमेरिकी दुतावास र शिक्षा फाउन्डेसन नेपालको संयुक्त सहकार्यमा सञ्चालित भैरहेको दुई चरणको ‘टेल योर स्टोरी-मधेश च्याप्टर’ कार्यशालामा शिवानी सिंह थारु, सरिता शाह, सम्पदा मल्ल, नविन सुब्बा, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनास विक्रम शाह प्रशिक्षकको रुपमा रहेका छन् ।