मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘नीरफूल’को प्रशंसा, दयाहाङ भन्छन्, ‘धेरै कुरा पुनर्स्मरण भयो’

फिल्मीखबर, काठमाडौं, 2023/06/08

करिब ५ वर्षअघि निर्माण सम्पन्न भएको फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौंको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा फिल्मले सुन्नलायक प्रतिक्रिया प्राप्त गर्‍यो । प्रिमियरमा उपस्थित प्रायः अतिथिहरुले फिल्मको कथावस्तु, छायांकन, लोकेसन, कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिए ।

प्रिमियरमा मिलेको प्रतिक्रियाबाट उत्साहित देखिएका अभिनेता दयाहाङ राईले ५ वर्ष अगाडि काम गरेको फिल्म अहिले हेर्दा धेरै कुरा पुनर्स्मरण भएको बताए । ‘मैले पाँच वर्षअघि यो फिल्मको कथा पाएको थिएँ । यो बीचमा फिल्मका धेरै कुराहरु दिमागबाट हटिसकेको थियो । पाँच वर्ष पछाडि फिल्म हेर्न पाउँदा धेरै कुराहरु पुनर्स्मरण भयो । बडो आनन्द महसुस भयो,’ दयाहाङले भने ।

फिल्ममा ७० प्रतिशत तामाङ भाषाको प्रयोग छ । तामाङ भाषाको संवादमा नेपाली सबटाइटल राखिएको छ । भाषाले गर्दा फिल्म बुझ्न भने गाह्रो नहुने दयाहाङको तर्क छ । ‘फिल्मको संवेदना महत्त्वपूर्ण कुरा हो । भाषा त हामी हरेक भाषाको फिल्म हेरिरहेका छौं,’ उनले भने, ‘फिल्ममा रुबी भ्याली (धादिङ) र काभ्रेको तिमाल क्षेत्रमा बोलिने तामाङ भाषा ‘मर्ज’ गरेर अर्को भाषा बनेको छ ।’

 

movie nirful


फिल्मका निर्देशक फूलमान वल ‘नीरफूल’लाई समाजको प्रस्तुतीको रुपमा व्याख्या गर्छन् । आम नेपालीले आफ्नो जीवनमा समाज र सिस्टमसँग भोगिरहेकै कुरा फिल्ममा देखाइएको उनको दाबी छ । एउटा समयको यथार्थ कथा भएकाले लामो समयसम्म फिल्म ताजा लाग्ने उनको विश्वास छ । फिल्मले भूकम्पको समयको पीडादायी कथा र परिवेश पुनर्स्मरण गराउने निर्देशक वल बताउँछन् ।

उनी फिल्मको शीर्षकको अर्थ बुझाउँदै भन्छन्, ‘नीरफूल भनेको निलो रंगको फूल हो । निलो दुःखको रंग हो । हामीले ७२ सालमा भूकम्पको जुन दुःख भोग्यौं, त्यसलाई फिल्मको कलरबाट ल्याउन खोजेका हौं ।’ विश्वयुद्धको कथा हलिउडले अहिले भन्न थालेको उल्लेख गर्दै वलले भूकम्पको कथा त्यतिबेलै भनिएको भए अहिलेको जस्तो ‘इमोसन’ नआउने र अहिले हेर्दा पुनर्स्मरण हुने बताए ।

फिल्ममा अभिनेत्री शान्ति वाइवा दयाहाङको श्रीमतीको भूमिकामा छिन् । उनी तामाङ समुदायकै भए पनि फिल्ममा प्रयोग भएको तामाङ भाषा बुझ्न उनलाई सहज थिएन । उनी भन्छिन्, ‘म काभ्रेको परेँ । म रुबी भ्यालीको तामाङ भाषा ६० प्रतिशत पनि बुझ्दिनँ । फिल्ममा मैले बोलेको भाषा बुझ्न गाह्रो भएको थियो ।’ तामाङ भाषाका कारण फिल्म बुझ्न भने गाह्रो नहुने वाइवाको भनाई छ ।

भूकम्प गएपश्चात् धादिङको रुबी भ्यालीबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएकी छोरीलाई खोज्न एक दम्पतीले गर्ने संघर्षको कथामा फिल्म बनेको छ । फ्रेण्ड्स अफ नेपाल-म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।